Kathmandu Press

अस्पताल भन्छ– अक्सिजन केही घण्टालाई मात्र मौज्दात

काठमाडौं धापासीस्थित ग्रिन सिटी हस्पिटलले अक्सिजनको मौज्दात केही घण्टालाई मात्र रहेकाले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने परिस्थिति औँल्याएको छ ।
अस्पताल भन्छ– अक्सिजन केही घण्टालाई मात्र मौज्दात

काठमाडौं, वैशाख २६ : काठमाडौं धापासीस्थित ग्रिन सिटी हस्पिटलले अक्सिजनको मौज्दात केही घण्टालाई मात्र रहेकाले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने परिस्थिति औँल्याएको छ ।

कोभिड–१९ का नयाँ बिरामी भर्ना लिन नसकिने र भर्ना भएका बिरामीलाई पनि जुनसुकै बेलामा स्थानान्तरण गर्नुपर्ने हुन सक्ने अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

‘अक्सिजनको आपूर्तिको लागि सम्बन्धित सबै पक्षलाई सहयोगको हार्दिक अनुरोध गर्छौँ,’ अस्पतालले भनेको छ ।

विज्ञप्तिअनुसार उक्त अस्पतालमा हाल सञ्चालनमा रहेका १० आईसीयू र ३० हाई केयर शय्यामा उपचाररत बिरामीहरूलाई अहिले दैनिक दुई सय ५० वटा अक्सिजन सिलिन्डर आवश्यक पर्छ । ‘जसको व्यवस्थापन कठिन भइरहेको छ । हालको विषम परिस्थितिमा अक्सिजनको आपूर्तिमा अएको समस्याले गर्दा अक्सिजन मौज्दात केही घण्टाभन्दा बढी नरहेकोले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नयाँ बिरामी भर्ना गर्न नसकिने र भर्ना भएका बिरामीलाई पनि जुनसुकै बेला स्थानान्तरण गर्नुपर्ने हुनसक्ने जानकारी गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालमा शय्या र अक्सिजनको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको अस्पतालले बताएको छ । ‘अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ भने अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको छ,’ अस्पतालले भनेको छ ।
 

प्रकाशित मिति: २०:०४ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्