Kathmandu Press

एमालेमा ह्विप, जसपाले स्वतन्त्र छाडिदियो आफ्ना सांसदलाई

सत्तारुढ एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ भने जसपाले ह्विप नलगाउने निर्णय गरेको छ ।
एमालेमा ह्विप, जसपाले स्वतन्त्र छाडिदियो आफ्ना सांसदलाई

काठमाडौं, वैशाख २६ : सत्तारुढ एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले हरेक सांसदलाई पत्र पठाउँदै विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् ।

संघीय संसद्को चौथो ठूलो दल जसपाले भने ह्विप नलगाउने निर्णय गरेको छ । पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा भएको बैठकमा तटस्थ बस्ने र विश्वासको मतको विपक्षमा मतदान गर्ने दुई लाइन देखिएपछि पार्टी विभाजन हुन नदिने मध्यममार्ग पहिल्याइएको एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले जानकारी दिए ।

बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, डा. भट्टराई, अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

यस्तो निर्णयपछि उपेन्द्र–बाबुराम समूहलाई ओलीविरुद्ध मतदान गर्न बाटो खुलेको छ । महन्थ–राजेन्द्र समूहका सांसदले पनि तटस्थ बस्न या विश्वास प्रस्तावको विपक्षमा मतदान गर्न पाउने भएका छन् ।

संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास  दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं!’

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्