पार्टीलाई पछारिछाड्ने हानिकारक प्रयास भएः ओली
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीलाई पछारिछाड्ने हानिकार प्रयासहरू भइरहेको दाबी गरेका छन् ।
काठमाडौं, वैशाख २६ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीलाई पछारिछाड्ने हानिकार प्रयासहरू भइरहेको दाबी गरेका छन् ।
आइतबार साँझ प्रेस वक्तव्य जारी गर्दै उनले ती प्रवृत्ति कुनै हिसाबले पनि उपयुक्त नभएको र हानिकारक रहेको बताएका छन् ।
‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा शिकार बनाउनु हुँदैन,’ ओलीले भनेका छन्, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्र गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजिनामा गरी–गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारिछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।’
पार्टीले कसैलाई काखा, पाखा नगर्ने दाबी उनले गरेका छन् । ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरू’ देखा परेको ओलीको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्ता क्रियाकलापलाई उनले अपराधको संज्ञा दिएका छन् । र, पार्टी कार्यकर्ता त्यसमा संलग्न नहुने दाबी गरेका छन् ।











-1790332718.jpg)