Kathmandu Press

जलजलामा फुजी स्याउको बगैँचा स्थापना

जलजलामा फुजी स्याउको बगैँचा स्थापना

जुम्ला, वैशाख २६ : जुम्लाको गुठिचौर गाउँपालिका – ५ काडाखोला जलजलामा फुजि स्याउ बगैचा स्थापना भएको छ। गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन्।

कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा।राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउको विरुवा रोपेर बगैँचा शुभारम्भ गरे । उनले भने , लकडाउनको समयमा बगैँचामै नआउनु पर्ने हो। डाक्टरले बिरामीलाई छोड्न सक्दैन् कृषि सचिवले किसान छोड्न सकेन। बगैँचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठाने।’ बगैँचामा एकैपटक ३० हजार विरुवा रोपिएको हो।

स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न सक्ने उनले जानकारी दिए।  एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले भने ,‘यो बगैँचा स्थापनाको कामले पूर्णता पाएसंगै केही आशाका किरण पलाएको छ।’ उनले बगैँचामा विरुवा रोप्नुअघि बगैँचाको आकार प्रकार तयार भएको , ८७ जनाले जग्गा भाडामा दिएको र  एक लाख ५० हजार बर्गमिटर जग्गामा पूर्वाधारसहितको  बगैँचा निर्माण गरिएको  जानकारी दिए। बगैँचा स्थापनाको लागि झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको  जनाइएको छ। उनका अनुसार एक दिनमा २५० कामदारले रोजगार पाउनुका साथै एक आयोजना प्रमुख, दुई लेखापाल, एक ओभरसियर , दुई स्टोर किपर , १२ हेल्पर , चार जेटिए  र चार चौकीदार राखिएको छ। दुई सहजकर्ता, तीन चालक र तीन सहचालक राखिएको छ। 

गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीय खुशी छन्। उनीहरुले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने जनाएका छन्।  लगानीकर्ता भण्डारीले जडिबुटी ब्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउदा खुशी लागेको बताए। उनले भने ,‘यो स्याउ बगैँचामा अर्गानिक मलको प्रयोग हुनेछ। २३ लाख रुपैयाँमा मल खरिद गरेर विरुवामा राखिएको छ। ’ 

सो स्याउ बगैँचा कृषि स्रोत केन्द्रका रुपमा स्थापित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरणा परियोजना कार्यनयन इकाईका प्रमुख नमराज भण्डारीले जानकारी दिए। जिल्लामा झण्डै ३ हजार ४ सय ५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ।  पछिल्लो समयमा जिल्लाका किसान फुजि जातको स्याउ व्यवसायिक खेतीमा आकर्षण भएका छन् । रासस

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्