संवैधानिक परिषदको बैठक बस्दै, देउवा र सापकोटा नजाने
काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बोलाएका छन् । परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज बिहान बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
विभिन्न संवैधानिक निकायमा रिक्त पद हरुमा नियुक्तिका लागि बैठक बोलाएको चर्चापछि विपक्षी दलहरूले बैठक रोक्न माग गरेका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटाले नजाने जनाइसकेका छन् । प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा ओलीसहित राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने सहभागी हुने सम्भावना छ।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्दै संवैधानिक परिषदको बैठक बोलाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत हिजो एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ।
तर यही वैशाख २१ गते प्रधानमन्त्रीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन अध्यादेश–२०७८) जारी गरेर संवैधानिक परिषदमा कुनै तीन सदस्यले बैठक बसी निर्णय गर्न सक्ने व्यवस्था गराएका छन्।











-1790332718.jpg)