Kathmandu Press

राजधानीका चार अस्पतालमा अक्सिजन अभाव, थप बिरामी भर्ना नगर्ने

काठमाडौं, वैशाख २५ : कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अभाव देखिएको छ। अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण...
राजधानीका चार अस्पतालमा अक्सिजन अभाव, थप बिरामी भर्ना नगर्ने

काठमाडौं, वैशाख २५ : कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अभाव देखिएको छ। 

अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना संक्रमितको उपचार गर्न नसकिएको जनाएका छन्। ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने बताएका छन्। 

चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ हेन्डस् सामुदायिक अस्पतालले आज संयुक्त विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा संक्रमितको उपचार गर्न नसकिएको जनाएका छन्। ती अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रष्ट पारेका छन्। 

सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ। शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई संक्रमितको मृत्यु भएको थियो। त्यहाँ उपचाररत अन्य सङ्क्रमितलालाई रातरात अन्य अस्पतालमा सारिएको थियो। 

चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन्। अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ। 

प्रकाशित मिति: २०:१३ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्