अबको २० वर्षमा पशुकाे मासु विस्थापन भएर बनस्पति मासुले बजार लिने
सन् २०४० सम्म अधिकांश मासुको श्रोत पशु हुने छैन। एटी कर्नी नामक ‘ग्लोबल कन्सल्टेन्सी’ले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार अबको २० वर्षमा पाइने ६० प्रत....
सन् २०४० सम्म अधिकांश मासुको श्रोत पशु हुने छैन। एटी कर्नी नामक ‘ग्लोबल कन्सल्टेन्सी’ले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार अबको २० वर्षमा पाइने ६० प्रतिशत मासु ‘भ्याट’मा उत्पादन हुनेछ वा वनस्पतिजन्य उत्पादनले मासुको स्थान लिनेछ। यस्तो उत्पादन हेर्दा र स्वाद पनि मासुजस्तै हुनेछ।
विशेषज्ञहरूको अन्तर्वार्तामा आधारित उक्त रिपोर्टले परम्परागत मासु उत्पादनको वातावरणीय प्रभाव र औद्योगिक पशुपालनमा पशु हित र कल्याण सम्बन्धी चासोमाथि प्रकाश पारेको छ। ‘ठूलो परिमाणको पशुपालन उद्योगलाई धेरैले अनावश्यक ठान्दछन्,’ रिपोर्टमा भनिएको छ,‘परम्परागत रूपमा उत्पादन गरिएका मासुभन्दा भिगन वा कल्चर्ड मासुको विकल्प आएको छ। यस्ता उत्पादनले चाँडै बजार ओगट्नेछन्।’
परम्परागत मासु उद्योगले अर्बाैं पशु पाल्छ र वार्षिक दश खर्ब अमेरिकी डलरभन्दा धेरैको व्यापार गर्दछ। तर, पछिल्ला वैज्ञानिक अध्ययनमा यसले जलवायु संकट निम्त्याउने उत्सर्जनदेखि खेतीपातीका लागि मासिएका वन जंगल, नदी र समुद्रको प्रदूषणसम्म ठूलो वातावरणीय प्रभाव पारेको पुष्टि भएको छ।
‘बियोन्ड मिट’, ‘इम्पोसिबल फुुड्स’ र ‘जस्ट फुड्स’जस्ता कम्पनीहरूले वनस्तपतिजन्य तत्व प्रयोग गरेर ‘बर्गर’, ‘स्क्र्याम्बल्ड एग्स’ र अन्य परिकार उत्पादन गर्दछ। यसको माग बजारमा तीव्र बढिरहेको छ। एटी कर्नीको अनुमान अनुसार परम्परागत मासु बजारमा वर्चश्व जमाएका कम्पनी लगायतले यस्ता ‘भिगन’ उत्पादनमा एक अर्ब अमेरिकी डलर लगानी गरेका छन्। ‘बियोन्ड मिट’ गत मे महिनामा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो। त्यसयता कम्पनीको शेयर मुल्य दोब्बरभन्दा धेरैले बढेको छ।
अन्य कम्पनीले पशुपालन र वध नगरी वास्तविक मासु उत्पादन गर्ने प्रयास गरिरहेका छन्। यस्ता उत्पादन हालसम्म ग्राहकसम्म पुगेको छैन तर दीर्घकालीन समयमा ‘कल्चर्ड मिट’कै वर्चश्व हुने एटी कर्नीले पूर्वानुमान गरेको छ। वनस्पतिजन्य विकल्पभन्दा यस्ता उत्पादनले परम्परागत मासुको स्वाद र अनुभव बढी दिने एटी कर्नीले जनाएको छ।
‘फ्लेक्सिटरियन, शाकाहारी र भिगन जीवनशैली बढ्दै गएकोमा विवाद छैन। वातावरण र पशु कल्याणबारे बढी सचेत हुनाले धेरै भन्दा धेरै ग्राहकले मासु खपत घटाइरहेका छन्,’ एटी कर्नीका साझेदार कास्र्टन गर्हार्टले बताए। ‘मासुप्रेमीका लागि कल्चर्ड मासुको उत्पादन बढ्नु भनेको उनीहरूले सधैंको आहार खान पाउनु हो। तर यसको वातावरणीय प्रभाव समान हुँदैन र पशुबध पनि घट्छ।’
प्रतिवेदन अनुसार सन् २०४० सम्म उत्पादन हुने मासुको कुल परिणामको ३५ प्रतिशत कल्चर्ड र २५ प्रतिशत भिगन विकल्प हुनेछ। परम्परागत मासुभन्दा वैकल्पिक मासु अझ प्रभावकारी उच्च हुने यसले देखाउँछ। विश्वको आधाभन्दा धेरै अन्नबाली पशु आहारको रूपमा प्रयोग हुन्छ तर वनस्पतिजन्य क्यालोरीको मात्रै १५ प्रतिशत मानिसले मासुको रूपमा सेवन गर्दछ। तुलनात्मक रूपले ‘कल्चर्ड’ र ‘भिगन’ मासुका विकल्पले तीन–चौथाइ क्यालोरी दिन्छ।
‘कल्चर्ड’ मासु प्रयोग गर्ने सम्भावित ग्राहकको असहजता बाधक नहुने रिपोर्टले जनाएको छ। अमेरिका, चीन र भारतमा गरिएका सर्वेक्षण उद्धृत गर्दै रिपोर्टमा भनिएको छ,‘दीर्घकालमा कल्चर्ड मासुकै जित हुनेछ। तर संक्रमणकालमा नयाँ भिगन विकल्प आवश्यक हुनेछ।’
दिगो खाद्य प्रणालीमा केन्द्रित परोपकारी संस्था जेरेमी कोलर फाउण्डेशनका रोजी वार्डलले भने,‘स्टेकदेखि सिफुडसम्म, वनस्पति र ‘सेल–बेस्ड’ मासुको प्रविधिले परम्परागत पशुजन्य प्रोटिन उत्पादनको स्थान लिइरहेको छ।’ ‘प्रोटिन खपतको दिगो शैली सुरू भइसकेको छ। यसलाई उपभोक्ता, लगानीकर्ता र उद्यमीले साथ दिएका छन्। मासु उत्पादन गर्ने विश्वकै ठूला कम्पनीहरू पनि भित्रिदै छन्। केही नभए पनि आउने २० वर्षमा विश्वको ६० प्रतिशत मासु पशुबाट उत्पादन हुँदैन भन्नु अत्युक्ति नहोला।’
तर, नेसनल फार्मर्स युनियनका एक पदाधिकारीले भने,‘बेलायती पशुपालनको प्रगतिमा नवीनता र नयाँ प्रविधि जहिले पनि केन्द्रमा छ। प्रयोगशालामा उत्पादन गरिएका मासुको विज्ञान रोचक भए पनि देशका लागि सुरक्षित, पहिचानयोग्य र सहुलियत दरका खाना उत्पादन गर्ने यात्रालाई निरन्तरता दिन पशुपालनको ठूलो सम्भावना भएको युनियनको विश्वास छ। सर्वसाधारणको माग रहेसम्म यसलाई निरन्तरता दिइनेछ।’