अक्सिजनको आपूर्ति र अस्पताल शय्या सुनिश्चित गर : कांग्रेस
प्रमुख प्रतिपक्षी दल कांग्रेसले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
काठमाडौं, वैशाख २५ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
पार्टी सह-महामन्त्री तथा कांग्रेस कोभिड-१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतले शनिबार विज्ञप्तिमार्फत कृत्रिम अभाव सृजना गर्नेहरूलाई तत्काल कारवाही गर्न र आवश्यकताअनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिन्डरको आपूर्ति गर्न माग गरेका हुन्।
कोभिड-१९ का बिरामीहरु अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका समाचार काठमाडौं उपत्यकालगायत देशभरिबाट आइरहेको बेला सरकार भने कोभिड-१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नदेखिएको विज्ञप्तिमा उल्लेख छ।
‘काठमाडौं उपत्यकाका धेरै अस्पतालमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ। यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड-१९ का बिरामीले अक्सिजन नपाउने अवस्था सृजना भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो समस्या देशका अन्य भागबाट पनि आउन थालेका छन्। काठमाडौं उपत्यकाका कतिपय अस्पतालले अक्सिजन अभावका कारण अक्सिजन चाहिने कोभिड-१९ का बिरामीहरूलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन्।’
‘सरकार संक्रमितहरूको आवश्यकताअनुसार न अस्पतालहरूको थप व्यवस्था गर्न सकिरहेको छ, न त अक्सिजनको समुचित आपूर्ति,’ विज्ञप्तिमा उल्लेख छ, ‘कांग्रेस आवश्यकताअनुसार सरकारसँग देशका विभिन्न ठाउँमा कोभिड-१९ उपचारका लागि अस्थायी अस्पतालहरूको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न माग गर्छ।’











-1790332718.jpg)