Kathmandu Press

नेपालको ओलीलाई सुझाव- अध्यादेशमार्फत पदपूर्ति गर्नुभन्दा जनताको जीवन रक्षामा ध्यान देउ

नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्नुभन्दा जनताको जीवन रक्षामा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
नेपालको ओलीलाई सुझाव- अध्यादेशमार्फत पदपूर्ति गर्नुभन्दा जनताको जीवन रक्षामा ध्यान देउ

काठमाडौं, वैशाख २५ : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्नुभन्दा जनताको जीवन रक्षामा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत सरकारलाई सचेत गराउँदै कोरोना नियन्त्रणमा लाग्न आह्वान गरेका छन्। नेपालले भनेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो।’

प्रधानमन्त्री ओलीले केही दिन अघि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए। त्यस्तै, अन्य अध्यादेश पनि ल्याउने तयारी गरिरहेका छन्। यस्तो बेला नेपालले उनलाई अध्यादेश ल्याउन भन्दा कोरोना नियन्त्रणमा लाग्न सुझाएका हुन्।

उनले नियुक्तितिर भन्दा जनताको जीवनरक्षामा केन्द्रित हुनुपर्ने बताएका छन्। ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन,’ नेपालले भनेका छन्, ‘अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु।’

प्रकाशित मिति: ०९:०४ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्