अक्सिजन सिलिन्डर अभावप्रति संवेदनशील हुन मेयर शाक्यको अपिल
काठमाडौं, वैशाख २४ : देशभर अक्सिजन सिलिन्डरको अभावप्रति काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सबैलाई संवेदनशील हुन आग्रह गरेका छन्।शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनले...
काठमाडौं, वैशाख २४ : देशभर अक्सिजन सिलिन्डरको अभावप्रति काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सबैलाई संवेदनशील हुन आग्रह गरेका छन्।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनले भने, ‘यतिखेर अस्पतालहरुमा अक्सिजनको होइन, सिलिन्डरको अभाव छ। व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिन्डर संचित गरेर राखेको पाइएको छ। यस्तो महामारीका बेला विरामीलाई अति आवश्यक पर्ने अक्सिजनका आपूर्ति सहजताका लागि व्यक्ति तथा संस्थासँग भएको संचित सिलिन्डर अस्पताल वा सम्बन्धित उद्योगमा बुझाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’
यस्तै, यतिवेला अस्पतालमा उपचाररत धेरै विरामीलाई प्लाज्मा चाहिएको छ। यसका लागि प्लाज्मा दान गर्न सक्ने व्यक्तिहरुले प्लाज्मा दान गर्न समेत उनले आग्रह गरेका छन्।
दोस्रो लहरका रुपमा फैलिएको कोभिड–१९को संक्रमणबाट बच्न र बचाउन महानगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरुको क्षमता विकास गरेर धेरैभन्दा धेरै विरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका विरामीलाई अस्पताल आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, जोखिमपूर्ण ठाउँलाई निसंक्रमण गराउने लगायतका कार्य गरिरहेको उनले बताए। ‘हामी संघीय सरकार, प्रदेश सरकार तथा अन्य नगरपालिकाहरुसँग समन्वय गरेर ठूला अस्पतालहरुमा विरामीको चाप घटाउने प्रयास गरिरहेका छौँ,’ उनले भने।












-1790332718.jpg)