Kathmandu Press

बीबीसीमा प्रधानमन्त्रीले बोलेको कुरा बचाउ गर्ने पर्यटन विभागको असफल प्रयास

काठमाडौं, जेठ ३१ : राजस्वको लोभमा सरकारले सगरमाथा चढ्न चाहने जति सबै आरोहीलाई अनुमति दिँदा विश्वको सर्वोच्च शिखरमा ट्राफिक जाम हुन पुगेको र त्यही....

बीबीसीमा प्रधानमन्त्रीले बोलेको कुरा बचाउ गर्ने पर्यटन विभागको असफल प्रयास
बीबीसी अन्तर्वार्ताको स्क्रिन शट

काठमाडौं, जेठ ३१ : राजस्वको लोभमा सरकारले सगरमाथा चढ्न चाहने जति सबै आरोहीलाई अनुमति दिँदा विश्वको सर्वोच्च शिखरमा ट्राफिक जाम हुन पुगेको र त्यही कारण धेरैको मृत्यु पनि भएको भनी अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपाल सरकारको आलोचना भइरहेको छ।

युरोप भ्रमणको क्रममा बेलायत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बीबीसीले यही विषयमा प्रश्न गरेको थियो। ओलीले सरकारको बचाउ गर्नु स्वाभाविक थियो। तर, देशभित्र बाचाल नेताकाे रुपमा परिचित ओलीले बीबीसीसँगकाे अन्तर्वार्तामा भने सही तर्क दिएर सरकारको बचाउ गर्न सकेनन्। 

सबैभन्दा बढी २४ पटकसम्म विश्वको सर्वोच्च शिखर चढेर विश्व कीर्तिमान रचेका कामीरिता शेर्पाले ट्राफिक जामको कारण सगरमाथामा यति धेरै मानिसको मृत्यु भएको समाचारकाे खण्डन गरिसकेका छन्। कामीरिताले शेर्पाको सुझाव र सगरमाथामा कडाईका साथ पालना गर्नुपर्ने अनुशासन पालना नगर्दा धेरै आरोहीको मृत्यु भएको तर्क गरेका छन्।

बीबीसीको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यही तर्क दिएर सरकारको बचाउ गर्न सक्थे। तर, उनले त्यस्तो तर्क गरेनन्। बरु, अत्यधिक आरोहण अनुमति दिइएकाले सगरमाथामा ट्राफिक जाम र मृत्यु भएको भन्ने समाचारलाई सिधै ‘हल्ला’ भन्दिए।

प्रधानमन्त्री ओली र बीबीसीबीच भएको संवादको प्रारम्भिक अंशको अनुवाद – 

बीबीसीः प्रधानमन्त्री, यसपालि यति धेरै आरोहण अनुमति दिइनु गल्ती थियो?

प्रधानमन्त्री ओलीः साँच्चै भन्ने हो भने, यो हल्लामात्रै हो। त्यति धेरै आरोहण अनुमति दिइएकै छैन।

बीबीसीः ३८१ आरोहण अनुमति...अहिलेसम्मकै सबैभन्दा बढी...।

प्रधानमन्त्री ओलीः त्यो त्यति ठूलो संख्या होइन।

बीबीसी अन्तर्वार्तापछि प्रधानमन्त्री ओलीमाथि पर्याप्त गृहकार्य नै नगरी अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अन्तर्वार्ता दिन गएको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सञ्चार माध्यममै अत्यधिक आरोहण अनुमति जारी गरिएकोले ट्राफिक जाम र मृत्यु भएको होइन भन्ने दाबी गरेपछि पर्यटन मन्त्रालयले पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यही भनाइ दोहोर्‍याएको छ।

शुक्रबार राससले प्रकाशित गरेकाे एक समाचारमा भनिएको छ – पर्यटन विभागको अभिलेख हेर्दा अधिक अनुमतिपत्र वितरण गरेकै कारण सगरमाथामा आरोही, सरदार गाइडको मृत्यु भएको हो भन्ने विषय वास्तविक नरहेको तथ्याङ्कले पनि देखाएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

तर, प्रधानमन्त्रीको भनाइ पुष्टि हुने गरी प्रेस विज्ञप्ति निकाल्ने विभागले नै सार्वजनिक गरेको तथ्याङ्क हेर्दा पनि प्रधानमन्त्रीको दाबी गलत रहेको देखिन्छ।

विभागका अनुसार, सन् २०१८ मा ३४६ जनालाई सगरमाथा आरोहण अनुमति दिइएको थियो। त्यसअघि सन् २०१७मा ३६ जनालाई आरोहण अनुमति दिइएको थियो। पर्यटन विभागको विज्ञप्तिको आधारमा राससले भनेको छ – ‘अघिल्लो वर्षभन्दा यस वर्ष ३५ जना मात्रै बढी हो।’

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, जेठ ३१, २०७६