Kathmandu Press

पप्पुले जिम्मा लिएको पुलको दुइटा पाइल्स बन्नुअघि नै क्र्याक

काठमाडौं, जेठ ३१ : संघीय संसद्को विकास समितिले एक वर्षअघि नै निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल अझै पूरा नभएको र निर्माणाधीन पुल पनि सम्झौताभन्दा कमसल ....

पप्पुले जिम्मा लिएको पुलको दुइटा पाइल्स बन्नुअघि नै क्र्याक

काठमाडौं, जेठ ३१ : संघीय संसद्को विकास समितिले एक वर्षअघि नै निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल अझै पूरा नभएको र निर्माणाधीन पुल पनि सम्झौताभन्दा कमसल बनाएको निष्कर्ष निकाल्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाहीका लागि सिफारिश गरेको छ।

समितिका सभापति कल्याणी खड्काको नेतृत्वमा भएको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा पुल निर्माण सम्झौताबमोजिम नभई सोभन्दा कमसल ढंगले भइरहेको उल्लेख छ। प्रतिवेदनमा लेखिएको छ, ‘२९.५ मिटर गहिरो (लम्बाई) का १६ वटा (१२००एमएम) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको पाइयो तर निर्माण व्यवसायीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र २ (दुई) वटा पाइल्स क्र्याक भएको प्राविधिक परीक्षणबाट देखिएको जानकारी भयो।’

निर्माणधीन उक्त पुलको तीनवटा पाइल्समा गम्भीर त्रुटी देखिएपछि काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई जग (फाउन्डेसन)मा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो तर व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सव-स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको समितिको निष्कर्ष छ।

तीनकुनेमा निर्माणाधीन पुल।

आयोजनाले पुल पुनर्डिजाइन गर्न पप्पु कन्स्ट्रक्सन कम्पनीलाई निर्देशन दिएको थियो। उक्त डिजाइन चित्त नबुझेपछि परिमार्जित डिजाइनमा चित्त नबुझेपछि आयोजनाले उक्त डिजाईन इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा पठाएको थियो तर डिजाइन त्यहाँबाट परिमार्जन भई हालसम्म नआएको प्रतिवेदनमा उल्लेख छ।

उक्त पुलको लम्बाई ८६ मि. र चौडाई १७.२० मि. रहेको प्रतिवेदनमा लेखिएको छ।

उक्त पुलबाट दैनिक हजारौ सवारी साधन गुड्ने र मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्न यो पुलको प्रयोग गर्नैपर्ने बाध्यता छ।

‘काठमाडौं उपत्यका मात्र होइन देशका विभिन्न भागमा रहेका यस्ता पुलहरुको निर्माण गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरुको पूर्व तयारी गरेर मात्र निर्माणको कार्य प्रारम्भ गर्न समितिबाट नेपाल सरकारलाई निर्देशन समेत भएको छ’, प्रतिवेदनमा उल्लखे छ, ‘तर नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतमा रहेका निकायहरुबाट गरिएका पूर्वाधार निर्माणका कार्यहरुमा यस सम्बन्धमा ध्यान पुर्‍याएको पाइएन।’

याे पनि : बिजुलीबजारमा ‘आर्क ब्रिज’ तयार, पप्पुले बनाउने वाग्मतीकाे अन्योलमै

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, जेठ ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्