Kathmandu Press

पप्पुलाई कारवाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, जेठ ३१ : तीनकुनेस्थित बागमती नदीमा पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सन कम्पनीलाई संसदीय समितिले कारवाही निर्देशन दिएको छ।

<....
पप्पुलाई कारवाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, जेठ ३१ : तीनकुनेस्थित बागमती नदीमा पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सन कम्पनीलाई संसदीय समितिले कारवाही निर्देशन दिएको छ।

आज बसेको संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकले पुल निर्माणमा गम्भीर लापरवाही गरेको जनाउदै कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले उपत्यका सडक विस्तार आयोजनाको निर्देशनविपरीत गुणस्तरहीन काम गरेको पाइएको जनाएको छ। दुई साता अघि समिति सभापति कल्याणी खड्कासहितको टोलीले पुलको अनुगमन समेत गरेको थियो।

पुलमा गम्भीर लापरबाही देखिएकाले कारबाहीको लागि सिफारिस गरिएको सभापति खड्काले बताइन्।

ठेकेदार कम्पनीले दिएको निर्देशनसमेत पालना नगर्ने गरेको तथा पहुँच र प्रभावको आधारमा आफुखुशी काम गरिएको पाइएको जनाएको छ। सबै हेर्दा कारवाहीको विकल्प नभएकाले निर्देशन दिएको खड्काले बताइन्।

स्थलगत अध्ययनका क्रममा पुलको पुनः डिजाइन नगरी काम अघि नबढाउन पनि सरकारको नाममा निर्देशन दिएको छ।

पुलका पाइल २९.५ मिटर गहिराइसम्म हुनुपर्नेमा १६.५ मिटरसम्म मात्रै राखिएको समितिको ठहर छ।

त्यस्तै, योजना पूर्वतयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्ने, काम अगाडि नबढाउने निर्देशन दिँदादिँदै पनि काम अगाडि बढाउनेलाई कारबाही गर्नुपर्ने, निरन्तर अनुगमन र निरीक्षण गर्नुपर्ने लगायतका निर्देशन पनि दिइएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पुल निर्माणका लागि पप्पुसँग २०७१ पुस ४ गते सम्झौता गरेको थियो। पुल निर्माणको लागत अनुमान ३० करोड ८५ लाख भए पनि निर्माण कम्पनीसँग २१ करोड ३३ हजार (करबाहेक) मा सम्झौता भएको थियो।

याे पनि : बिजुलीबजारमा ‘आर्क ब्रिज’ तयार, पप्पुले बनाउने वाग्मतीकाे अन्योलमै

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, जेठ ३१, २०७६