पूर्वशिक्षामन्त्री डिआर पौडेलको हृदयघातबाट निधन
चितवन, जेठ ३१ : पूर्वशिक्षामन्त्री एवं नेकपाका केन्द्रीय सदस्य धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ।
उनलाई हिजो राति चितवनको माडी नगरप....
चितवन, जेठ ३१ : पूर्वशिक्षामन्त्री एवं नेकपाका केन्द्रीय सदस्य धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ।
उनलाई हिजो राति चितवनको माडी नगरपालिका–५ रमाइलोडाँडास्थित घरमै हृदयघात भएको थियो। राति हृदयघात भएका ५४ वर्षीय पौडेललाई आज बिहान माडीस्थित बघौडा अस्पताल लगिएको थियो।
उनलाई अस्पताल पुर्याए लगत्तै आज बिहान ७ बजे चिकित्सकले निधन भएको जानकारी दिएको नेकपा चितवनका जिल्ला अध्यक्ष यमबहादुर परियारले बताए।
पौडेल नेकपा केन्द्रीय सदस्य थिए। उनी संविधानसभाको सदस्य पनि भएका थिए।
उनी विद्यार्थीबाटै राजनीतिमा लागेका थिए। पौडेल अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष समेत भएका थिए।
पूर्वपत्रकार पौडेल लेखनमा पनि सक्रिय थिए। उनी डीआर पौडेलका नामले लेखनमा पनि चिनिन्छन्।
उनकी पत्नी गङ्गा वेलवासे पनि नेकपाको केन्द्रीय सदस्य छन्। पौडेलका दुई छोरी छन्।
उनको आजै अन्तिम संस्कार गरिने जनाएको छ। अन्तिम संस्कारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू सहभागी हुने जनाएको छ।
अहिले उनको शव बधौडा अस्पतालमै रहेको छ।






