९ सय वर्षको इतिहास बोकेको फ्रेञ्च वाइनकाे कथा
सभन्याँ ब्लँ– फ्रान्स र स्वीट्जरल्याण्डको सीमा नजिकै रहेको ज्युहाको पहाडमा पाइने एक प्रकारको अंगुर हो। यो चिजसँग खाइने सोभिन्युँ ब्लँ भने होइन। आज पनि यो क्षेत्र....
सभन्याँ ब्लँ– फ्रान्स र स्वीट्जरल्याण्डको सीमा नजिकै रहेको ज्युहाको पहाडमा पाइने एक प्रकारको अंगुर हो। यो चिजसँग खाइने सोभिन्युँ ब्लँ भने होइन। आज पनि यो क्षेत्रमा गएर त्यहाँको वाइन चाखे ९ सय वर्षअघि जस्तो स्वाद थियो, ठ्याक्कै त्यस्तै स्वाद पाइन्छ।
‘एक किसिमले समयमा रोकिएजस्तो लाग्छ,’ डा. नेथन वेल्सले भने। उनी संयुक्त अधिराज्यको युनिभर्सिटी अफ योर्कका पुरातत्वविद् हुन्। उनी मुख्य लेखक रहेको एउटा प्रतिवेदन नेचर प्लान्ट्स नामक जर्नलमा प्रकाशित भएको छ। ‘उनीहरूले नाममात्रै रिसाइकल गरेका होलान् भन्ने ठानेको थिएँ र एकपछि अर्काे पुस्ताले चलाउँछन् भन्ने मेरो बुझाइ थियो। तर त्यस्तो होइन रहेछ।’
अध्ययनको क्रममा फ्रान्सको विभिन्न पुरातात्विक क्षेत्रका कुवाँ र शौचालयमा भेटिएका २८ प्रकारका अंगुरका दानाको डिएनए विश्लेषण गरिएको छ। ती स्थानमा पिसिएका अंगुर फ्याँकिन्थ्यो अथवा अंगुर खाने पशु वा मानिसले त्यहाँ शौच गर्ने गर्थे। डा. वेल्सको टोलीले परीक्षणबाट प्राप्त ‘सिक्वेन्स’लाई ‘ग्रेपरिसेक’ नामक अंगुरको ‘जेनेटिक बैंक’सँग तुलना गर्यो।
अंगुरका निश्चित प्रकारप्रति वाइन निर्माता कसरी सयौं वर्षसम्म वफादार हुन्छन् भनेर अनुसन्धानको नतिजाले देखाएको छ। उत्कृष्ट अंगुरलाई कसरी उत्पादन गर्ने भनेर अधिकांश उत्पादकले १० वा २० शताब्दी लगानी गरेका छन्। प्रकृतिको गतिसँगै अंगुरका नयाँ प्रकारलाई विकास हुन दिने वा एउटा भरपर्दाे प्रजाति स्याहार्दै उत्कृष्ट ‘क्लोन’ तयार गर्ने, उनीहरूसँग विकल्प थियो।
डिएनएको नयाँ निष्कर्ष ऐतिहासिक अभिलेखसँग मेल खान्छ। यस क्षेत्रको अंगुर खेती कम्तिमा पनि दुई हजार वर्ष पुरानो भएको ऐतिहासिक अभिलेखहरूले देखाएका छन्। पहिलो शताब्दीमा रोमन साम्राज्यको अंगुर खेती दक्षिणी फ्रान्समा फैलिदा, ‘प्लिनी द एल्डर’ले अंगुरका ९१ प्रजाति भएको उल्लेख गरेका थिए। उनले वर्णन गरेको कलम काट्ने विधि अहिले पनि प्रयोगमा छ। तर, उनले प्रयोग गरेका रोमन नामलाई अहिलेका अंगुरसँग सजिलै जोड्न सकिएको छैन।
डा. वेल्सको टोलीले प्लिनीको समयसम्म पुग्ने निरन्तरताको कडी भेटेको छ। ओर्लियन्स शहरस्थित एउटा चर्च कम्प्लेक्स, ला मदलेनको झण्डै एक हजार वर्ष पुरानो खाल्डोमा भेटिएको अंगुरको एउटा दाना आधुनिक समयको सभन्याँ ब्लँसँग ठ्याक्कै मिलेको छ।
अन्य दानाहरू करिब दुई हजार वर्षमा एउटा मात्रै प्रजनन चक्रबाट उनीहरूको समकालीन नातेदारबाट अलग भएको देखिन्छ। उदाहरणका लागि पहिलो शताब्दीको एउटा कुवाँमा भेटिएको एउटा दाना ‘पिनो नुआ’ अंगुरकै वंशज नजिक भएको पाइएको छ। दोस्रो शताब्दीको खाल्डोमा भेटिएका तीन अन्य दाना ‘सिराह’ अंगुरसँग त्यसरी नै सम्बन्धित भएको भेटियो।
आधुनिक समयको पिनो र सिराहजस्तै वाइन घुट्क्याउनेबाहेक रोमन साम्राज्यले उनीहरूलाई मनपरेको अंगुरको प्रजाति दूरदराजसम्म लगेको इतिहासकारको विश्वास छ। दक्षिणी फ्रान्सको किनारनजिकै भेटिएको एउटा दानाको नजिकको प्रजाति हाल आल्प्समा खेती हुन्छ।
अझ प्राचीन दानाको वंशजको अध्ययन–अनुसन्धानले भविष्यमा प्रजननका प्रयासलाई सहयोग पुग्ने डा. वेल्सले बताए। साथै स्थानीय कृषि परम्परा कति पुरानो हो भन्ने पनि पत्ता लाग्नेछ। ‘आज सभन्याँ ब्लँको गिलास उठाउँदा, त्यो वाइनको आनुवांशिक पहिचान प्राचीन समयमा पिइने वाइनसँग मिल्छ भन्ने थाहा पाउनु गज्जबको कुरा हो,’ क्यानडाको डालहाउजी युनिभर्सिटीका सन माइल्सले भने।
यसअघि उनले पनि वाइन उत्पादनमा प्रयोग गरिने एक हजार आधुनिक अंगुरको आनुवांशिक अध्ययनको नेतृत्व गरेका थिए। पछिल्लो अध्ययनमा उनी संलग्न थिएनन्।
अध्ययनको प्रकाशोन्मुख कृतिको खुशी बाँड्न डा. वेल्सले गत सप्ताहन्तमा एक बोतल ‘गिवर्जत्रामिनर’ ल्याएका थिए। यो फ्रान्सबाहिर सजिलै पाइने सभन्याँ ब्लँको गुलाबी नातेदार हो। ‘साह्रै मिठो थियो,’ उनले भने।