Kathmandu Press

जागरण अभियान:  एक महिनामा ३१ हजार ६ सय कांग्रेसमा प्रवेश 

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसले पहिलो चरणको एक महिने जागरणको क्रममा ३१ हजारभन्दा बढी विभिन्न दल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको ज....

 जागरण अभियान:  एक महिनामा ३१ हजार ६ सय कांग्रेसमा प्रवेश 

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसले पहिलो चरणको एक महिने जागरणको क्रममा ३१ हजारभन्दा बढी विभिन्न दल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको जनाएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले जनता सरकारप्रति विकर्षण र कांग्रेसप्रति आकर्षण देखिएको जनाएको हो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा ७७ जिल्लाका सबै स्थानीय निकायसम्म पार्टीले कार्यक्रम गरेको बताए।

‘यो पहिलो चरणको एक महिने जागरण अभियानमा हामी ७७ वटै जिल्लाका स्थानीय निकायसम्म पुग्यौं,’ प्रवक्ता शर्माले भने, ‘अहिले जनता सरकारप्रति विकर्षण र कांग्रेसप्रति आकर्षको अवस्थामा छन्।’

जागरण अभियानमा दुई हजारभन्दा बढी कार्यक्रम भएको पनि शर्माले बताए। ‘जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको थियो’ शर्माले भने, ‘ एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरूसँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरू तथा कतिपय ठाउँमा वडा स्तरीय कार्यक्रम समेत गरी समग्रमा दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरिएका छन्।’ 

वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरूले सरकारप्रति बढाएको तीव्र असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको पनि कांग्रेसले जनाएको छ।  ‘फेरि पनि नेपाली कांग्रेसले आफूलाई नविनढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वर्द्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ’ जागरण अभियानसम्बन्धी जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको छ।’

जागरणका क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरूबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रममार्फत ३१ हजार ६ सय ४२ जनाले कांग्रेस प्रवेश गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रवक्ता शर्माले अन्य दलबाट कांग्रेस प्रवेश गरेकाहरूलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्ने बताए। 

भदौ २४ देखि दोस्रो चरणको कार्यक्रम 

कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण पूर्वघोषणा अनुरुप भदौ २४ गते (विपी जयन्तीका दिन)देखि सुरू गर्ने बताएको छ। उक्त अभियान असोज ७ गतेसम्म रहने छ।
 

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, जेठ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्