चीनद्वारा ५० लाख युआन बराबरको सहयोग घोषणा
काठमाडौं, वैशाख १४ : चीनले नेपाललाई कोरोनाविरुद्ध लड्न थप सहयोगको घोषणा गरेको छ।मंगलबार अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित सम्मेलनमा...
काठमाडौं, वैशाख १४ : चीनले नेपाललाई कोरोनाविरुद्ध लड्न थप सहयोगको घोषणा गरेको छ।
मंगलबार अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित सम्मेलनमा चीनले नेपाललाई सहयोग गर्ने घोषणा गरेको हो। सम्मेलनमा बोल्दै चीनका राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने बताएका हुन्।
चीनले चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएकोमा जोड दिए। कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको उनको भनाइ थियो।
सम्मेलनमा सहभागी मन्त्रीले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ।











