कोरोनाबाट महिलाको मृत्यु भएपछि गाउँ सिल, स्थानीयबासी त्रसित
डोटी, वैशाख १४ : जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ। केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया...
डोटी, वैशाख १४ : जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ। केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो। वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरीत विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ।
यसैगरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवत जावत गर्नमा यहि २० गतेसम्म बन्देज गरिएको छ। जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउजे क्रम बढ्नुका साथै उनीहरु क्वारेन्टिन नबसि सिधै गाउँ जानथालेका कारण गाउँमा कोरोना सङ्क्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ। जिल्लामा कम्तिमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रोजगारी गरी घर फर्किएको बताइएको छ।
सुपमा १८६ औलो रोगी फेला
सुदूरपश्चिम प्रदेशमा १८६ औलो रोगका बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो।
औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहेपनि यहाँका छ जिल्लामा अझै औलो रोग पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउछन् । प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीकाअनुसार औलोका बिरामी सबैभन्दा बढी प्रदेश राजधानीसमेत रहेको कैलाली जिल्लामा फेला परेका छन् ।
कैलालीमा चालु आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका उनले बताए। जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको दाबी छ। चालु आर्थिक वर्षमा ११५ आयातित औलोका बिरामी रहेको जनाइएको छ। प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा ३२० औलोका बिरामी थिए। जसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए। प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएको छ। यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिकरुपमा कम हुँदै गएको छ। रासस











