Kathmandu Press

बाबुराम भट्टराई १७७६ किलोमिटर लामो मध्यपहाडी यात्रामा

काठमाडौं, माघ १३ : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले समावेशी विकासबारे अन्तर्संवाद गर्न मध्य पहाडी राजमार्गको ....

बाबुराम भट्टराई १७७६ किलोमिटर लामो मध्यपहाडी यात्रामा
नयाँ शक्ति पार्टी

काठमाडौं, माघ १३ : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले समावेशी विकासबारे अन्तर्संवाद गर्न मध्य पहाडी राजमार्गको एक हजार सात सय ७६ किलोमिटर यात्रा गर्ने भएका छन् ।

पाँचथरको पूर्वी सिमाना चिवाभञ्ज्याङबाट  माघ १५ गते सुरु हुने यात्रा एक महिनापछि फागुन १५ गते पश्चिमी सिमाना बैतडीको झूलाघाटमा पुगेर अन्त्य हुने कार्यक्रम छ । शनिवार नयाँशक्ति पार्टी, केन्द्रीय कार्यालयमा एक पत्रकार सम्मेलन आयोजना गरी यात्राबारे जानकारी गराइएको हो ।

डा. भट्टराईले भने, ‘म अर्थमन्त्री छँदा ०६५–६६ सालमा पहाडको विकासका लागि चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म मध्य–पहाडै पहाड भएर जाने पुष्पलाल राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको थिएँ । त्यो निर्माण कहाँ पुग्यो, त्यो पनि हेर्न मन छ । थारु र मधेशीबाहेक नेपालमा मुख्य सात जातको मुख्य थलो यही मार्गमा पर्छ । यो मार्गमा यात्रा गर्दा नेपालको औसत बोध हुन्छ ।’

देश विकासको प्रतिफल भुइँ तहका जनतासम्म पुग्नुपर्ने बताउँदै डा.भट्टराईले भने, ‘लोकतन्त्र भनेको जनताबाट लिएर जनतालाई नै दिने व्यवस्था हो । विकासको प्रतिफल सबै वर्ग, जाति, क्षेत्रसम्म पुग्नुपर्छ । यो सरकार एक वर्ष पुग्दा जनतामा निराशा छाएको छ । यो चल्तेचलातेको राजनीतिले कहीँ पुगिँदैन । त्यसैले जनताको समस्या बुझेर नीतिनिर्माणमा सघाउन यो यात्राले मद्दत गर्छ ।’

‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ नाम दिइएको उक्त यात्रामा लोकमार्गमा पर्ने मुख्य शहर र वस्तीहरूमा अन्तरक्रियामा र सभाहरू पनि आयोजना गरिने छन् । यात्रामा जनप्रतिनिधिहरु, स्थापित सामाजिक व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा विभिन्न पक्षसँग स्थानीय समस्या र संघीयता कार्यान्वयनसम्बन्धी अन्तर्क्रिया एवम् प्रशिक्षण गरिने छन् ।

स्थानीय  विभिन्न उद्यमी, व्यवसायी र उपभोक्ता समूहहरुसँगको अन्तर्क्रिया हुनेछ । कृषि, पूर्वाधारसम्बन्धी अन्तर्क्रिया र श्रव्यदृश्य प्रस्तुतीकरण पनि गरिनेछ । यात्रामा स्थान विशेषअनुसार ससाना भेटघाट हुनेछन् । समावेशिता, सुशासन, सदाचार र समृद्धिबारेमा जनसंवाद गरिनेछ । यात्रामा पूर्व प्रधानमन्त्री भट्टराई सहित नयाँशक्ति पार्टीका नेताहरू सहभागी हुनेछन् ।

डा.भट्टराईले देश कांग्रेस र कम्युनिष्ट दुई धारमा विभक्त भएकाले यी दुई ध्रुवबाहेक तेस्रो शक्ति जरुरी रहेकाले आफूहरूले त्यसका लागि प्रयास गरेको बताए । यात्राको उद्देश्य पार्टीले अंगालेको वैकल्पिक विचार, असल राजनीतिलाई जनसमक्ष प्रसार गर्नु र जनताको सुझाव ग्रहण गर्नु रहेको सो पार्टीले जनाएको छ ।

पार्टी प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेद्वारा जारी विज्ञप्तिका अनुसार, कार्यक्रमको मूल उद्देश्य नयाँ शक्ति पार्टी, नेपालद्वारा प्रस्तुत समावेशी समृद्धिको खाका र अवधारणा प्रष्टसँग आमजनतामा पु¥याउनु रहेको छ । संघीयता कार्यान्वयनका शिलशिलामा देखापरेका अकर्मण्यता र शिथिलताको अन्त्य गरी संघीयताको पक्षमा दृढतापूर्वक उभिन र त्यसका बारेमा विभिन्न स्थानका जनप्रतिनिधिहरु, स्थानीय तह र आम जनतालाई प्रशिक्षित गर्नु उक्त कार्यक्रम आयोजना गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘देशको युवा पंक्तिसँग सिधा सम्बन्ध स्थापित गरी युवा शक्तिको विदेश पलायन रोक्न गम्भीर विमर्श गर्नु रहेको छ ।’

 

प्रकाशित मिति: १५:१४ बजे, शनिबार, माघ १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्