यासपालि यार्सागुम्बा सङ्कलन गर्न पाइने
मनाङ, वैशाख १३ : कोरोना महामारीले निम्त्याएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ। लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई...
मनाङ, वैशाख १३ : कोरोना महामारीले निम्त्याएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ। लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो।
यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ । यहाँको आर्थिक अवस्था उकास्न यार्सा सङ्कलन पूर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका विभिन्न खर्कमा सङ्कलनका लागि पूर्जी रकम छुट्याएको छ। नाम्के खर्कका लागि रु २० हजार , ङिस्याङ २० हजार र नार फु भ्यालीका लागि ३० हजार छुट पूर्जी रकम उल्लेख गरिएको छ ।
गत वर्ष कोरोनाले बन्दबन्दी भएकाले यस क्षेत्रले जडिबुटी सङ्कलन रोक लगाएको सो संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार कोरोना जोखिम बढ्दै जाँदा आर्थिक सङ्कट पनि बढेको हुँदा यस पटक भने जिल्लाभित्र बसोवास गर्ने जिल्लाबासीका लागि मात्र खुला गरिएको हो। कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लामा भने बन्देज लगाइएको उहाँले जानकारी दिए।
जिल्लामा रहेका चार स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय लगायत स्थानीय सिएमसीको निर्णयानुसार जिल्लाका सबै क्षेत्रमा यार्सा सङ्कलन पूर्जी खोलिएको सिएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिए। उनका अनुसार पर्यटन व्यवसाय ठप्प भएसँगै स्थानीयबासीको आर्थिक अवस्था आएको सङ्कट टार्न पनि सङ्कलन आवश्यक रहेको हो। (रासस)
जडिबुटी र पर्यटन व्यवसायमा निर्भर यहाँका मानिस कोरोनाले पर्यटन व्यवसाय ठप्प भएसँगै दैनिकी चलाउन कठिन भएको जनाउँदै सिजनमा यार्सा सङ्कलन गरेर जिविको चलाउन सकिने बताउँछन्।
जडिबुटी सङ्कलन गर्दासमेत सुरक्षालाई ध्यान दिन जिल्ला प्रशासनले अनुरोध गरेको छ। महामारीले कसैलाई पनि नछाड्ने हुँदा स्वास्थ्यको ख्यालसमेत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए।
उनले सङ्कलन गरिएका जडिबुटी चोरी निकासी हुनसक्ने हुँदा जिल्ला प्रशासनले आवश्यकताअनुसार जिल्लाका सबै सुरक्ष निकाय प्रयोग गरिने बताए।
जिल्लाबासी बाहेक बाहिरी जिल्लाका मानिसलाई सङ्कलनमा निषेध गरिएको छ । त्यस्तै खरीद बिक्रीका लागि पनि जिल्लाभित्रका सरकारले दिएको अनुमतिपत्र भएका मानिसलाई नै प्राथमिकतामा राखिएको पनि उहाँले जानकारी दिए। सरकारको जडिबुटी खरिद ऐनअनुसारको अनुमतिपत्र हुनुपर्ने उनले बताए।
समयमा सङ्कलन गर्न नसके यी जडिबुटी त्यसै बिलाएर जाने हुँदा सही समयमा सदुपयोग गर्न सकियो भने जीवनस्तर उकासिन्छ। जिल्लाको आर्थिकस्तरसमेतमा यसले टेवा पुग्छ । यसैले पनि यार्सा सङ्कलन गर्नु जरुरी भएको मनाङ ङिस्याङ सिएमसीका अध्यक्ष सगर गुरुङले जानकारी दिए।
हाल नाम्के खर्कमा सङ्कलन सुरु भएको सिएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिए। उनका अनुसार जिल्लाका सबै खर्कमा एकै चोटि सङ्कलन भने हुँदैन । यो खर्कमा सिजनको पहिलो सुरु हुने खर्क हो भने नारफु खर्क सिजनको अन्तिम भएको उनले बताए।
यही वैशाखको दोस्रो साताबाट शुरु भएको सङ्कलन असार मसान्तसम्म रहने जनाइएको छ। यस अवस्थामा अपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्थासमेत सुदृढ बनाइएको जिल्ला प्रशासनले जनाएको छ।
चार गाउँपालिका रहेको यस जिल्लामा चामे गाउँपालिका बाहेक अरु गाउँपालिकामा यर्सागुम्बा सङ्कलन गर्ने खर्क रहेका छन्।











