कोभिड-१९ बाट प्रभावित भारतलाई विश्वको सहयोग
नयाँ दिल्ली, वैशाख १३ : दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य...
नयाँ दिल्ली, वैशाख १३ : दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताए। उनले भने, ‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ,’ उनले भने।
यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताइएको छ। बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ। युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन्।
भारतको राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन्। यहाँ आएका बिरामीलाई अस्पतालले फर्काउँदैछन्। त्यस्तै पछिल्लो समयमा त्यहाँ लकडाउन पनि लम्ब्याइएको छ।
भारत सरकारले अक्सिजनको उत्पादनमा बढाउने योजना थालेको छ। भारतले देशभरमा ५ सयवटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ।











