स्काभेटर पुरिँदा चालकको मृत्यु
रुकुमपूर्व, वैशाख १३ : भूमे गाउँपालिका-८ सिमखोला (पूर्साबाङ) मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ।आइतबार साँझ...
रुकुमपूर्व, वैशाख १३ : भूमे गाउँपालिका-८ सिमखोला (पूर्साबाङ) मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ।
आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे-१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिए। पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ ।
घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएको उनले बताए। अहिले सो ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन शुरुआत गरिएको बताइएको छ । उनका अनुसार पुर्साबाङ-रुकुकोट-कुचिवाङ-कोर्जा-तमारी-लावाङ सडकखण्डअन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रम जारी थियो ।
उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए। उनले ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि घटना भएको जानकारी दिए।











