Kathmandu Press

लक्ष्य भेट्टाउन कठिन: दैनिक ५ अर्ब खर्चिँदा राजस्व पौने ७ अर्ब उठाउनुपर्ने

काठमाडौं, जेठ २९ : सरकारले विकास बजेट सिध्याउन दैनिक ५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्नु पर्ने भएको छ राजस्वको लक्ष्य भेटाउन दैनिक पौने ७....

लक्ष्य भेट्टाउन कठिन: दैनिक ५ अर्ब खर्चिँदा राजस्व पौने ७ अर्ब उठाउनुपर्ने

काठमाडौं, जेठ २९ : सरकारले विकास बजेट सिध्याउन दैनिक ५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्नु पर्ने भएको छ राजस्वको लक्ष्य भेटाउन दैनिक पौने ७ अर्ब उठाउनुपर्ने भएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्यका साथ विकास बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष सकिन अब एक महिनामात्रै बाँकी रहँदा खर्च गर्ने चटारो समेत देखिएको छ। काठमाडौंका सडकमा धमाधम पिच थप्ने काम समेत सुरु भएको छ। 

११ महिनासम्म खर्च नगरेको रकम एक महिनामा सिध्याउनका लागि प्रत्येक वर्ष जेठ–असारमा पिचको काम गर्ने गरिन्छ, जुन यो वर्ष पनि भइरहेको छ। चालु वर्ष सकिन एक महिनामात्रै बाँकी छँदा सरकारले विकास बजेट ४६.५४ प्रतिशतमात्रै खर्च गरेको छ। विकास बजेट अहिलेसम्म १ खर्ब ४७ अर्ब १३ करोड रुपैयाँ मात्रै खर्च भएको छ। अब बाँकी लक्ष्य अनुसार खर्च गर्न दैनिक ५ अर्ब रुपैयाँ भन्दा बढी खर्च गर्नुपर्ने छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनअघि संसदमा विकास बजेट लक्ष्य अनुसार खर्च नभएको बताएका थिए। सरकारले लक्ष्य अनुसार राजस्व समेत उठाउन नसक्ने पक्का भएको छ। ८ खर्ब ३१ अर्ब ३१ करोड राजस्व उठाउने लक्ष्य लिएको सरकारले ११ महिनासम्म ६ खर्ब ११ अर्ब ७२ करोड रुपैयाँ मात्रै उठाएको छ। जुन लक्ष्यको ७३.५८ प्रतिशत मात्रै हो। सरकारले लक्ष्य बमोजिम राजस्व संकलन गर्न अब दैनिक ६ अर्ब ८६ करोड रुपैयाँ संकलन गर्नुपर्ने छ। 

चालु खर्चतर्फ पनि लक्ष्यको ७० प्रतिशतमात्रै खर्च भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा ५ खर्ब ९६ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको छ। जसका लागि  ८ खर्ब ४५ अर्ब रुपैयाँ ४४ करोड रुपैयाँ चालु खर्च गर्ने लक्ष्य राखेको थियो। 
 

प्रकाशित मिति: ०१:४० बजे, बिहीबार, जेठ ३०, २०७६