Kathmandu Press

परीक्षा स्थगनको माग गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ताला

महेन्द्रनगर, वैशाख ११ : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले शनिबार तालाबन्दी गरेका छन्।कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको...
परीक्षा स्थगनको माग गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ताला

महेन्द्रनगर, वैशाख ११ : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले शनिबार तालाबन्दी गरेका छन्।

कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन्। विश्वविद्यालयका पदाधिकारीसित पटक–पटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नुपरेको  अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए।

अनेरास्ववियु अध्यक्ष गजुरेलसहित नेपाल विद्यार्थी सङ्घका विक्रम बुढा, अखिल (क्रान्तिकारी)का गणेशराज मिश्रा, अखिल (क्रान्तिकारी)का अध्यक्ष नागेन्द्र जोशी, अखिल छैटौँका दीपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष शङ्कर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीका बेला परीक्षा सञ्चालन कार्य रोक्न विश्वविद्यालयसँग माग गरेका छन्।

विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थीले कोरोना महामारीमा परीक्षा सञ्चालन गर्न स्वास्थ्य जोखिम हुने भन्दै रोक्न माग गरेका छन्।

कोरोनाको सङ्क्रमित विद्यार्थी, कर्मचारीलगायतको स्वास्थ्य सुरक्षा, क्वारेन्टिन र आइसोलेसनको यथाशीघ्र व्यवस्थापन गर्नसमेत उनीहरुले माग गरेका छन्।

 

प्रकाशित मिति: २०:२७ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्