Kathmandu Press

गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन कांग्रेस र राजपाको माग

काठमाडौं, जेठ २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका....

गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन कांग्रेस र राजपाको माग

काठमाडौं, जेठ २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै कांग्रेस र राजपा नेपालका सांसदहरुले गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन्। बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बोल्न समय दिएका थिए।

बैठकको सुरुमै बोल्दै कांग्रेस सांसद प्रकाशमान सिंहले काठमाडौंका  गुठीयारको माग तत्काल पूरा गर्न पनि सरकारसँग माग गरे। उनले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिएर सरोकारवाला निकायसँग छलफल गरेर परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले प्रस्तावित विधेयकमा पुस्ताँैपुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपत्तिजनक रहेको बताए। 

सिंहले संविधानले समेत निजी सम्पत्ति, गुठी, संघसंस्थालाई जोगाउने ग्यारेन्टी गरेकोमा सरकारले निजी सम्पत्तिमाथि आउने दिनमा राज्यको नियन्त्रणमा राख्ने प्रयास गरेको बताए। विधेयक सरोकारवाला गुठीयारसँग समेत छलफलबिनै ल्याएको भन्दै उनले हजाराैं वर्षदेखि चल्दै आएको संस्कार संस्कृतिलाई  जोगाउनु पर्नेमा सरकारले गुठीको मूल मर्ममा प्रहार गर्ने खराब नियतले ल्याएको आरोप लगाए।

बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारलाई आग्रह गरे। उनले धर्म संस्कृतिको रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएका थिए। 
 

प्रकाशित मिति: १६:१८ बजे, बुधबार, जेठ २९, २०७६