धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री
काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका...
काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्।
छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए।
‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुशी लागेको छ’, उनले भने।
म बनाउँछु, मेरो धरहरा अभियानअन्तर्गत २४ करोड रुपैयाँ जम्मा भएको पनि उनले कार्यक्रममा बताए। धरहरा ढल्दा हामीलाई आफैँ ढले जस्तो र ठडिँदा हामी बौरिएर उठेजस्तो अनुभव भएको धेरैले सुनाउने गरेको प्रधानमन्त्री ओलीले बताए । आधुनिक सामग्री प्रयोग गरेर नभत्किने खालको धरहरा निर्माण भएको जानकारी कार्यक्रममा गराइएको थियो।
विसं २०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक÷एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन्। धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उनको प्रतिबद्धता छ।











