Kathmandu Press

ललितकला प्रतिष्ठान बनाउन सुवालको ठूलो योगदान

काठमाडौं, वैशाख ११ : विगतमा प्रज्ञा–प्रतिष्ठानकै एक शाखाका रुपमा थियो ललितकला विभाग। त्यसले ललितकला क्षेत्रको विकास गर्न सक्दैन भन्ने निष्कर्ष निकालेर आन्दोलन चर्काउनेमध्येका...
ललितकला प्रतिष्ठान बनाउन सुवालको ठूलो योगदान

काठमाडौं, वैशाख ११ : विगतमा प्रज्ञा–प्रतिष्ठानकै एक शाखाका रुपमा थियो ललितकला विभाग। त्यसले ललितकला क्षेत्रको विकास गर्न सक्दैन भन्ने निष्कर्ष निकालेर आन्दोलन चर्काउनेमध्येका एक थिए अग्रज कलाकार शंकरराज सिंह सुवाल।

त्यसैले पञ्चायतकालीन समयमा चन्द्रमानसिंह मास्केको नेतृत्वमा ललितकला प्रज्ञा-प्रतिष्ठान स्थापनाका लागि बनेको समितिले आन्दोलन सुरु गर्यो । सुवाल त्यस समितिको सदस्य भएर आन्दोलनमा सक्रिय सहभागी भए। अन्ततः आन्दोलनले सफलता प्राप्त गर्यो ।

अहिले नेपाल प्रज्ञा-प्रतिष्ठानसँगै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले स्वयत्त रूपमा काम गरिरहेको छ। यसरी अलग्गै प्रतिष्ठान आउनुमा सुवालसहितका समूहको अथक योगदान छ ।

Hardik ivf

तिनै योद्धा, आधुनिक कलाकार समाजका अध्यक्ष सुवालको शुक्रबार साँझ कोभिड-१९ सङ्क्रमणबाट भएको निधनले कला क्षेत्रमै अपूरणीय क्षति पुगेको छ । समाजका महासचिव तथा कलाकार जीवन राजोपाध्यय उनले प्रतिष्ठान स्थापनाका आन्दोलन मात्रै होइन कला सिर्जनाका माध्यामबाट पनि समाजलाई ठूलो योगदान गर्नुभएको अनुभव सुनाउँछन्।

‘दाइले कला क्षेत्रमा यति ठूलो योगदान गर्नुभयो, उहाँसँगै बसेर मैले पनि धेरै काम गरेँ, उहाँकहरुकै आन्दोलनले अहिले ललितकलाको छुट्टै प्रतिष्ठान बन्न सफल भयो तर आज श्रद्धाञ्जलिसमेत दिन नपाउँदा मन खिन्न छ,’ राजोपाध्यले भने ।

निकै लामो समय गोरखापत्रमा काम गरेर उपल्लो तहबाट सेवा निवृत्त उनी यथार्थवादी धाराका चित्रकार थिए। लैनसिंह वाङ्देलबाट प्रशिक्षित सुवालले भारतको बरोडाबाट औपचारकि कला शिक्षा लिएका हुन्। प्रिन्ट मेकिङ, डिजाइनमा समेत दखल राख्ने उनले नयाँ पुस्ताका धेरै कलाकार जन्माए।

कला क्षेत्रको उन्नयनका लागि उहाँलगायतको समूहले २००१ सालमा आधुनिक कलाकार समाज गठन गरेको थियो। समितिमा संस्थापक महासचिव भएर सुवालले संस्थालाई अगाडी बढाए। हालका महासचिव राजोपाध्ययले उनी नभएको भए संस्था यो अवस्थासम्म आउन नसक्ने बताए। समाजका संस्थापक अध्यक्ष कर्मा मास्के, शान्ता राई र हिरालाल डंगोलको यसअघि नै निधन भइसकेको छ।

कलाकार सुवाल झन्डै एक दशकदेखि मुटुरोगी थिए। मुटुमा पेस मेकर राखिएको थियो तर पनि उनले आफ्नो कला क्षेत्रलाई बिट मारिसकेका थिएनन्। सकेजति योगदान दिँदै आएका थिए। कलाकार सुवालले आफ्ना सिर्जनाको पटकपटक एकल प्रदर्शनीसमेत गरेका थिए।

त्यसअघि एउटा आर्टिस्ट सर्कल बनेको थियो। सर्कलमा रहेर उनले ललितकलामा ठूलो योगदान गरेका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य उक्त सर्कलमा सँगै बसेर काम गरेको अनुभव सुनाउँछन् ।

अतियथार्थवादी कलाकार सुवालले राजाका पालका राजनीति, ठूलाठूला लडाइँका सुन्दर चित्र बनाएका छन् । उनको पेन एन्ड इन्क आर्ट असाध्यै सुन्दर हुने कर्माचार्यले बताए। उनले पिस आर्ट पनि गरेक छन््। उनका धार्मिक, सांस्कृतिक चित्रहरु भने अलि कम छन्।

कलाकार तथा कला कार्यशालाका अभियानकर्मी दिवेश प्रधान धेरै चित्रकारका गुरु सुवालले आफ्नै घरमा चित्रकला सिकाउने र विभिन्न क्षेत्रमा विद्यार्थी लिएर चित्र उतार्न लगाउने गरेको सम्झन्छन् ।

उनको लिथोग्राफीमा समेत राम्रो अनुभव थियो । प्रधान उनका पौराणिक तथा ऐतिहासिक चित्र स्मरण योग्य भएको बताउँछन्। त्यसैले उनको योगदानको स्मरण गर्दै आज गर्न लागिएको शनिबारीय कला कार्यशालासमेत स्थगित गरिएको प्रधानले बताए।

एक हप्ताअघि यस्तै कार्यक्रमका लागि भनेर सुवाल कीर्तिपुर गएका थिए। त्यसपछि बिरामी भएको परिवारका सदस्य बताउँछन्। मुटुको पेश मेकर फेर्ने बेला भएकाले समस्या आयो कि भन्ने लागेर जँचाउन लगिएको थियो तर अस्पतालमा जाँच गर्दा कोभिड–१९ सङ्क्रमण देखियो ।

परीक्षण गर्दा परिवारका पाँचै सदस्यमा कोरोना देखिएपछि अस्पतालमा भर्ना भएका थिए । तर बुबालाई भने बचाउन नसकिएको विकेनले बताए। उपचारका लागि सघन उपचार कक्षमा र भेन्टिलेटरमा राख्नुपर्ने चिकित्सकको सुझाव आएपछि धेरै ठाउँमा प्राप्त हुन नसकेको र अन्तिममा टेकुमा फेला परेर भेन्टिलेटरमा राखिएकामा उपचार सफल हुन सकेन।

शुक्रबार साँझ पौन ५ बजे ७५ वर्षको उमेरमा उनको निधन भएको हो । विकेनसहित पत्नी, आमा, छोरा अहिले पनि अस्पतालमा उपचाररत छन्। (रासस)

प्रकाशित मिति: १५:४२ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्