Kathmandu Press

चार महिनादेखि नेतृत्वविहीन नेविसंघ, तदर्थ समिति नै बन्न सकेन

काठमाडौं, जेठ २९ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन।

चार महिनादेखि नेतृत्वविहीन नेविसंघ, तदर्थ समिति नै बन्न सकेन

काठमाडौं, जेठ २९ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन।

एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै चार महिनादेखि नेतृत्वविहीन रहेको नेविसंघको अहिलेसम्म तदर्थ समिति बन्न सकेको छैन।

नेविसंघको विस २०७३ साउनमा सम्पन्न ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष महरले १२ औँ महाधिवेशन गर्न नसेकेपछि माघमा राजीनामा दिएका थिए।  मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसंघको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ। 

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला स्थापना भएको नेविसंघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरेका थिए। नेविसंघको पहिलो अध्यक्ष विपिन कोइराला हुन्। स्थापनाकालदेखि हालसम्म आइपुग्दा ६ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्षले सर्वसम्मत नेतृत्व गरेका थिए। 

नेविसंघका निवर्तमान उपाध्यक्ष उर्मिला थपलिया पार्टीले तत्काल महिलाको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने बताइन्। “नेविसंघमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जाँदा पार्टीलाई अरु राजनीतिक दल र कांग्रेसले हेर्ने नजरमा पनि फरक पर्छ”, उनले भनिन्। 

नेविसंघका निवर्तमान सहमहामन्त्री प्रेमराज जोशी पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउँछन्। “विधानमा उल्लेख भएअनुसार तत्काल १०१ सदस्यीय समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसंघ जानुपर्छ”, उनले भने।

नेविसङ्घका पूर्व अध्यक्ष रञ्जित कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने बताउँछन्। “वडा तह, स्थानीय तह, जिल्ला तह, प्रदेश तह र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसङ्घको महाधिवेशन तत्काल गर्नुपर्छ”, उनले भने। 

नेविसंघका पूर्व अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेल लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद भएको बताउँछन्।

“नेविसङ्घलाई अनावश्यक हस्तक्षेप गरेर पार्टी सङ्गठन बलियो हुन सक्दैन, त्यही समितिलाई अहिलेसम्म काम गर्न दिएको भए धेरै जिल्लाको अधिवेशन गर्न सक्थ्यो”, उनले भने। तत्काल नेविसंघको महाधिवेशन गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा निर्वाचन समिति बनाएर अगाडि जानुपर्ने उनको भनाइ थियो।

नेविसंघको ४८ वर्षको इतिहासमा विसं २०५९ सालमा तत्कालिन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरु अध्यक्षहरुले समयमा अधिवेशन गर्न सकेनन्। विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए।

यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बनेपनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन्।  

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताए।  “विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ”, उनले भने। नेविसंघको समिति नहुँदा पार्टीले भर्खरै सम्पन्न गरेको पहिलो चरणको हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत समस्या परेको छ। रासस

प्रकाशित मिति: १६:०३ बजे, बुधबार, जेठ २९, २०७६