Kathmandu Press

रत्ननगरको विशेष नगर सभाः विधेयक,नियमावली र कार्यविधि पारित

चितवन, वैशाख ११ : रत्ननगर नगरपालिकाको शुक्रबार सम्पन्न विशेष नगरसभाले तीन महत्वपूर्ण विधेयक, नियमावली र कार्यविधि पारित गरेको छ । विशेष नगरसभा गरी सो...
रत्ननगरको विशेष नगर सभाः विधेयक,नियमावली र कार्यविधि पारित

चितवन, वैशाख ११ : रत्ननगर नगरपालिकाको शुक्रबार सम्पन्न विशेष नगरसभाले तीन महत्वपूर्ण विधेयक, नियमावली र कार्यविधि पारित गरेको छ । विशेष नगरसभा गरी सो नगरपालिकाले भूमिहीन दलीत, भूमिहिन सुकुम्वासी र अव्यवस्थितलाई लालपूर्जा वितरणको लागि अव्यवस्थित बसोवासी व्यवस्थापन कार्यविधि पारित गरेको हो। 

भूमिहीन दलित र भूमिहीन सुकुम्वासीबाहेक अव्यवस्थित बसोवासीलाई लालपूर्जा उपलब्ध गराउने विषयमा सो नगरपालिकाले केन्द्रीय कार्यविधिलाई अस्विकार गर्दै आफैले कार्यविधि बनाएको हो।  नगरपालिकामा विगत चार वर्षदेखि निरन्तर एउटै पदमा कार्यरत कर्मचारीलाई एकतह बढुवासहित समायोजन गर्ने गरी कर्मचारी समायोजन विधेयक ल्याएको छ। 

सो विधेयक पनि नगरसभाबाट पारित भएको छ। छैसठी कर्मचारीको प्रतिमहिना १० प्रतिशत तलब र सोमा शतप्रतिशत थप गरी कल्याणकोष बनाउने गरी अस्थायी तथा करार कर्मचारी कल्याणकोष नियमावली नगरसभाले पारित गरेको नगरप्रमुख नारायण वनले जानकारी दिए। 

सो नियमावली पास भएसँगै अब रत्ननगरमा काम गर्ने अस्थायी तथा करार कर्मचारीले पनि उपदान पाउने भएका छन्। नगरसभामा उपप्रमुख विमला दुवाडीले न्यायिक समिति र राजस्व परामर्श समितिले गरेका कामको प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक राजन भट्टले अव्यवस्थित बसोवासी व्यवस्थापन कार्यविधि, विधान समितिका संयोजक तिलकराज शर्माले अस्थायी तथा करार कर्मचारी कल्याणकोष नियमावली, क्षमता विकास तथा सेवा प्रवाह समितिका सदस्य रवीन्द्र चौधरीले कर्मचारी समायोजन कार्यविधि प्रस्तुत गरेकी थिइन् । 

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले राष्ट्रिय जनगणना २०७८ का विषयमा प्रस्ताव प्रस्तुत गरेका थिए। सभामा प्रमुख वनले अव्यवस्थित बसोवासीका नाममा धनाढ्यले जग्गा पाउने केन्द्रीय कार्यविधि आफूहरुलाई अस्विकार्य रहेको भन्दै भावी सन्ततिका लागि सार्वजनिक जग्गा जोगाउन छुट्टै कार्यविधि बनाएको बताए।  
 

प्रकाशित मिति: १०:४८ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्