Kathmandu Press

हुम्लामा हिमपात, सर्वसाधारण अचम्भित

हुम्ला, वैशाख ९ : उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन्। पुस, माघ र फागुन तीन महिना मात्रै...
हुम्लामा हिमपात, सर्वसाधारण अचम्भित

हुम्ला, वैशाख ९ : उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन्। पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ। आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताए। 

बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ। विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गर्थ्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ। हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ। सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन्।

यस्तै उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधबार दिउँसो एक बजेबदेखि शुरु भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन्। नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीयवासी सोनाम लामाले बताए। विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताए । मङ्गलबार चार हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधबारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ।

किसान खुशी

लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान खुशी भएका छन् । मङ्गलबार राति वर्षा र बुधबार रातिदेखि नियमित हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् । कात्तिकमा उत्पादन हुने बालीका लागि आकाशेपानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् । 

यो पटक परेको वर्षा र हिमपातले कात्तिक, असोज महिनामा उत्पादन हुने कोदो, चिनो, कागुनो, मकै, सिमी, फापरका लागि सहज बनाएको बताइएको छ। दुइदिन परेको पानीले किसानलाई निकै राहत हुने भएको छ । मौसम सफा हुनासाथ अब यहाँका किसान खनजोतमा व्यस्त हुने भएका छन्। रासस
 

प्रकाशित मिति: १०:१८ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्