Kathmandu Press

‘नेटवर्कसम्बन्धी समस्या समाधान गर’

काठमाडौं, वैशाख ८ : संसदीय समितिले ग्रामीण क्षेत्रमा देखिएका टेलिकमको नेटवर्कसम्बन्धी समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।प्रतिनिधि सभा अर्थ समितिको...
‘नेटवर्कसम्बन्धी समस्या समाधान गर’

काठमाडौं, वैशाख ८ : संसदीय समितिले ग्रामीण क्षेत्रमा देखिएका टेलिकमको नेटवर्कसम्बन्धी समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अर्थ समितिको आज (बुधबार) को बैठकमा सांसदले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औँल्याए। चालु आवको बजेट कार्यान्वयनको अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल भएको थियो। 
     
सांसद श्यामकुमार श्रेष्ठले ग्रामीण क्षेत्रका डाँडामा मात्रै नेटवर्क टिप्ने र गैरो गाउँमा नटिप्ने समस्यालाई समाधान गर्दै फोरजी सेवालाई सबै जनताको पहुँचसम्म  पुर्याउनुपर्नेमा जोड दिए। सांसदले प्रभावकारी नदेखिएको हुलाक सेवालाई सरकारले कुरियर सेवामा परिणत गर्दै गाउँगाउँसम्म विस्तार गर्नुपर्ने धारणा राखे। 

समिति सभापति कृष्णप्रसाद दाहालले नेपालमा प्रविधिको विकास भए पनि कामकाज प्रविधिमैत्री हुन नसकेको बताउँदै हुलाक सेवालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए। उनले आइटी इञ्जिनीयर रोजगारीका लागि विदेश जान नपर्नेगरी आगामी नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सुझाव दिए। 

सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई पूरा गर्ने गरी तीव्ररूपमा काम गरिरहेको र आगामी आर्थिक बजेटमा समेत त्यसलाई प्राथमिकता दिएको जानकारी गराए। उनले मुलुकको एकमात्र राष्ट्रिय समाचार समिति (रासस) को भवन नभएका स्थानमा भवन निर्माणका लागि आगामी बजेटमा समावेश गरिने बताए।

सचिव बस्यालले हुलाकी सेवालाई प्राधिकरणको मोडलमा लैजाने, पत्रकारको प्रेसपासको समस्या र सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत विषय प्राथमिकताका साथ आगामी बजेटमा समावेश गर्ने तयारी भइरहेको पनि जानकारी दिए। समितिका सचिव सुरेन्द्र आचार्यले सञ्चार मन्त्रालयअन्तर्गतका विभाग र संस्थानले समितिसामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १७:४७ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्