साउनदेखि हवाई भाडा घट्ने, कहाँ कति घट्ला?
काठमाडौं, जेठ २८ : अर्थमन्त्री डा. युवराज खतिवडा हवाई जहाज तथा हेलिकप्टरको पाटपुर्जामा लगाउँदै आएको मुल्य अभिवृद्धि कर (भ्याट) हटाएका छन्। एयरला....
काठमाडौं, जेठ २८ : अर्थमन्त्री डा. युवराज खतिवडा हवाई जहाज तथा हेलिकप्टरको पाटपुर्जामा लगाउँदै आएको मुल्य अभिवृद्धि कर (भ्याट) हटाएका छन्। एयरलाइन्स कम्पनीहरुकै माग अनुसार अर्थमन्त्री खतिवडाले पाटपुर्जामा लाग्दै आएको १३ प्रतिशत भ्याट हटाइदिएका हुन्।
योसँगै अब हवाई यात्रुहरुसँग एयरलाइन्स कम्पनीले उठाउँदै आएको १३ प्रतिशत रकम घट्नेछ। तर, एयरलाइन्स कम्पनीहरुले साउन १ गते पछि मात्रै हवाई भाडाको विषयमा छलफल हुने जनाएका छन्। सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटसँगै आर्थिक ऐनबाट भ्याट हटाइदिएको हो। भ्याट हटेसँगै हवाई यात्रुले पनि भाडादरमा राहत पाउने भएका छन् ।
जहाज तथा हेलिकप्टरका पाटपुर्जामा भन्सार भने एक प्रतिशत मात्रै लाग्दै आएको थियो। ‘साउन १ देखि कार्यन्वयनमा आउने भएकाले त्यसपछि मात्रै हवाई भाडाको विषयमा छलफल हुनेछ,’ श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले भने। भ्याट हटाएको भन्ने विषय आएकाले अब कार्यान्वयन पक्ष हेरेर मात्र हवाई भाडाको विषयमा छलफल हुने मानन्धरले बताए।
हाल नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने तीन वटा एयरलाइन्स रहेका छन्। वार्षिक एक खर्ब बढीको हवाई व्यापारमा ८५ प्रतिशत हिस्सा विदेशी एयरलाइन्सको रहँदै आएको छ। आन्तरिक हवाई सेवालाई विश्वासनीय बनाउने तथा अन्तर्राष्ट्रिय उडान गर्ने घरेलु एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउनका लागि भन्दै हवाई सेवा प्रदायकहरुले भ्याट छुट र शून्य भन्सारदरको माग गर्दै आएका थिए।
‘भ्याट हटाइएको भन्ने विषय आएको छ, कार्यान्वयनपछि विज्ञ समूह बनाएर भाडा समायोजनको विषयमा छलफल हुनेछ,’ निजी वायुसेवा सञ्चालक संघ (आयोन) का प्रमुख कार्यकारी कमलेश बर्माले भने। सरकारले आर्थिक ऐनमार्फत दुई हजार किलो तौलका हेलिकप्टर तथा १५ हजार किलोसम्मका जहाज र तीनका पाटपुर्जा आयातमा लाग्ने भ्याट हटाएको छ।
तर, भाडामा ल्याइने जहाजमा लाग्दै आएको कर भने यथावत छ। सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सरकारले हवाई सेवालाई सस्तो र प्रतिस्पर्धी बनाउन सहुलियत तथा छुट दिएको हो। नेपालमा दर्जन हेलिकप्टर कम्पनी, आधा दर्जन एयरलाइन्स कम्पनी तथा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स लाभाविन्त हुनेछन्।
हवाई जहाज तथा हेलिकप्टर र तीनका पाटपुर्जामा आयातमा भन्सार भने १ प्रतिशतमात्र रहेको छ। यसअघि जहाजमा पनि भ्याट भने लाग्ने गरेको थिएन।एयरलाइन्सहरुले चार्टर उडान, हेलिकप्टर उडान अन्य उडानको पनि १३ प्रतिशत भ्याट बराबरको यात्रुको भाडा घट्ने छ।






