आन्दोलनपछि थली-साँखु सडक तत्काल स्तरोन्नति गर्न नगरपालिका सहमत
काठमाडौं, जेठ २८ : आज बिहानदेखि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्....

काठमाडौं, जेठ २८ : आज बिहानदेखि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्न नगरपालिका सहमत भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाले थलीमा तत्कालै स्तरोन्नति गर्ने सहमति गरेपछि विद्यार्थी र स्थानीय बासिन्दाले आन्दोलन फिर्ता लिएका छन्। चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि आज बिहान विद्यार्थी र स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए। उनीहरूले सडक बन्द गरेका थिए। निर्माण सुरू भएको चार वर्षसम्म पनि सडक नबनेपछि थलीका बासिन्दा आन्दोलित बनेका थिए।
स्थानीयवासीको आन्दोलनपछि भएको छलफलमा सङ्घर्ष समिति र नगरपालिकाबीच तीन बुँदे सहमति भएको छ। तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुख बिन्दु सिम्खडा पुडासैनी, नगर कार्यपालिका सदस्य बबिता दाहाल कुइँकेल र सङ्घर्ष समितिका तर्फबाट पवोल बज्राचार्य, निराजन नेपाल, मनिष सिम्खडालगायतबीच सहमति भएको हो।
यसअघि पनि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा विलम्ब भएपछि यसैगरी प्रदर्शन भएको थियो। सरकारले २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो। त्यसपछि काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।
११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण गर्न नसक्ने भएपछि एक कम्पनी थपिएको थियो। तर, अहिलेसम्म सम्पन्न भएको छैन।











