कानूनविपरीत बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई कारवाही हुन्छ : गृहमन्त्री
काठमाडौं, जेठ २८ : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले जेठ २६ गते माइतीघर मण्डलमा भएको घटनाबारे प्रतिनिधिसभामा बोल्दै कानूनविपरीत बल प्रयोग गर्....
काठमाडौं, जेठ २८ : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले जेठ २६ गते माइतीघर मण्डलमा भएको घटनाबारे प्रतिनिधिसभामा बोल्दै कानूनविपरीत बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई कारवाही गर्ने बताएका छन्।
कांग्रेसले गृहमन्त्रीको जवाफ माग्दै हिजो संसद् अवरुद्ध गरेपछि आज उनले जेठ २६ गते माइतीघर मण्डलामा भएको प्रहरी-प्रदर्शनकारीबीचको झडपबारे प्रतिनिधिसभालाई जानकारी दिएका हुन्।
गृहमन्त्री थापाले गुठी विधेयकका केही प्रावधानहरूमा असहमति राख्दै उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, सम्पदा बचाउ अभियान, नेवा संगठन, दगु होल नेवाः गुठीको नेतृत्वमा २-३ सय प्रदर्शनकारीले विरोध प्रदर्शन गरेको जानकारी दिए।
‘त्यस क्रममा सार्वजनिक यातायात आवागमनलाई अवरोध खडा गरेका थिए। प्रहरीले आवागमन नरोक्न अनुरोध गरेको थियो। माइकिङ पनि गरियो तर पदर्शनकारीले मानेनन्। अवरोध जारी राखे। प्रहरीले पानीको फोहोराद्वारा त्यहाँबाट तितरवितर गर्ने र आवागमन खोल्ने प्रयत्न गर्यो’, उनले भने, ‘प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा–इँटा प्रहार गरे। प्रहरी पनि घाइते भएका छन्। फोहोरा हान्दा पनि प्रदर्शनकारी तितरवितर नहुँदा प्रहरीले सामान्य बल प्रयोग गर्यो। केहीलाई हिरासतमा पनि लिएको थियो। सोही दिन छाडियो।’
गृहमन्त्री थापाले भने, ‘राज्य नागरिकको शान्तिपूर्ण विरोध वा समर्थन गर्ने अधिकारलाई बर्बर दमन गर्यो भनेर जसरी उठाइएको छ, राज्य जनताको शान्तिपूर्ण विरोध गर्ने वा समर्थन गर्ने नैसर्गिक अधिकार हो। त्यसको रक्षा गर्न सरकार प्रतिबद्ध छ।’
उनले जनताको आवतजावत गर्ने र शान्तिपूर्ण विरोध गरेकाले पानीको फोहोरा प्रयोग गरेर तितरवितर नगरिएको बताए। उनले भने, ‘सरकार केमा पनि प्रतिबद्ध छ भने सार्वजनिक शान्तिसुरक्षा र सार्वजनिक आवागमन, जनताको जिउधनको रक्षा गर्न पनि सरकार त्यत्ति नै प्रतिबद्ध छ। त्यो पनि राज्यको दायित्व हो। हामीले सरकारको यही दायत्व पूरा गरेको हो।’
‘राज्य वा प्रदर्शनकारीको तर्फबाट कतै कानून मिचिएको छ भने कानून विपरीत जाने त्यहाँ बल प्रयोग गर्ने अभद्र व्यवहार गर्ने दण्डनीय हुन्छ’, उनले भने, ‘आवश्यक छानबिन सरकारले सुरु गरेको छ। महानगरीय प्रहरीले छानबीन अघि बढाएको छ। कानूनविपरीत बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई कारवाही हुन्छ।’
समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले एक घन्टाको धर्ना सकिन पाँच मिनेट मात्र बाँकी हुँदा समापन गर्न निस्केको जुलुशमा ज्येष्ठ नागरिकलाई टाउकोमा प्रहार गरेको भन्दै विरोध जनाए।
कांग्रेसका देवप्रसाद तिमिल्सिनाले पनि यसबारे बोल्न समय दिँदासमेत सभामुखले प्रतिपक्षलाई समय नदिएको भन्दै विरोध गरेका थिए।











