Kathmandu Press

अयोध्याधाममा शोभायात्रासहित मूर्ति राखिने

चितवन, वैशाख ५ : माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति ल्याइने भएको छ। प्रधानमन्त्री...
अयोध्याधाममा शोभायात्रासहित मूर्ति राखिने

चितवन, वैशाख ५ : माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति ल्याइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते मूर्ति हस्तान्तरण गर्ने भएका छन्।

अयोध्याधाम व्यवस्थापन समितिले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौँको राम मन्दिरबाट स्वस्तीवाचनसहित प्रधानमन्त्रीले ती मूर्ति हस्तान्तरण गर्ने जानकारी दिएको छ। समितिका संयोजक तीर्थराज भुसालका अनुसार हस्तान्तरणपछि बग्गी, रथसहित कलशयात्रा र करीब ५०० वटा सवारीसाधनसहित शोभायात्रा चैत ७ गते काठमाडौँबाट चितवनका लागि प्रस्थान गर्नेछ।

नागढुङ्गाबाट बग्गी काठमाडौँ फर्कनेछ भने चार वटा गाडीमा चार वटा मूर्तिसहितका गाडी चितवनका लागि प्रस्थान गर्ने कार्यक्रम छ। सोही दिन साँझ ४ देखि ५ बजेको समयमा दासढुङ्गामा शोभायात्रामा सहभागीलाई स्वागत गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार सो दिन साँझ उक्त टोलीको खानपान र बासको व्यवस्था देवघाटमा नै हुनेछ।

चैत ८ गते बिहान देवघाटका विभिन्न पिठाधीशको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडीतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उक्त शोभायात्रा पुनःदासढुङ्गाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जानेछ।

माडीमा पुगेपछि पर्शुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिने प्रचारप्रसाार समितिका संयोजक श्री दवाडीले जानकारी दिए। दवाडीका अनुसार माडीमा हालै निर्माण गरिएको मन्दिरमा ती मूर्ति राखिनेछ । माडीमा ९०० सवारीसाधन र चार हजार भक्तजनलाई खान बस्नको व्यवस्था गरिएको दवाडीले बताए।

माडी नगरपालिकाले धाम व्यवस्थापनका लागि १०० बिघा जमीन दिने निर्णय गरिसकेको छ भने धामको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ। धामको सम्पूर्ण निर्माण सम्पन्न गर्न करीब रु चार अर्ब खर्च लाग्ने जनाइएको छ।

प्रकाशित मिति: २१:२८ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्