रुद्रमती किनारको एक रोपनी आठ आना सार्वजनिक जग्गा अतिक्रमण
काठमाडौं, वैशाख ५ : काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ।कित्ता नं....
काठमाडौं, वैशाख ५ : काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ।
कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौं महानगरपालिका–११ कार्यालयले जनाएको छ। सरकारी जग्गा हडप्ने डोटेललाई जग्गा खाली गर्न र भाडामा राखेको मान्छे अन्यत्र सार्न वडा कार्यलयबाट पत्राचार गरी प्रक्रिया अघि बढाइएको वडाअध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए।
मालपोत र नापी कार्यालयबाट दुवै कित्ताका सार्वजनिक जग्गाको निस्सा प्रमाण लिएर चालु आर्थिक वर्षमै उद्यान निर्माण गर्न लागिएको उनले बताए। एक हप्ताभित्र जग्गा खाली गर्न जनप्रतिनिधिले समयसीमा दिएको कार्यालय जनाएको छ। सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ एक हप्ताभित्र अतिक्रमित सार्वजनिक जग्गा नछोडे आफ्नो नेतृत्वमा डोजर प्रयोग गरेर खाली गराउने बताउँछन्। सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सबै जनप्रतिनिधि र स्थानीयवासी एक हुनुपर्नेमा जोड दिइएको छ।
काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गतका सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध अभियान चलाएर खाली गराउन लागिएको उनले बताए। अन्यत्र पनि यसरी जग्गा अतिक्रमण गरेको जानकारी गराउन प्रदेशसभा सदस्य श्रेष्ठले स्थानीयवासीमा आह्वान गरेका छन्। रासस











