हर्न बजाउदा ५ सय जरिवाना, एकै दिन ४१३ चालकलाई कारवाही
काठमाडौं, जेठ २८ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि हर....

काठमाडौं, जेठ २८ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि हर्नमा कडाइ गरेको हो। जथाभावी हर्न बजाउने चालकलाई कारवाही गर्न थालेको छ।
महाशाखाले हिजो मात्रै चार सय १३ सवारीसाधन चाकललाई कारवाही गरेको छ।
चिकित्सकका अनुसार, ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर पार्छ।
उपत्यकामा जथाभावी हर्न बजाएकाले ध्वनि प्रदूषण हुने गरेको छ। त्यसैले हर्न बजाउनेलाई कारवाही गर्न थालिएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले बताए।
उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको छ। महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो।
यसअघि २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो। घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन।
महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारीसाधनबाट पाँच सय रुपैयाँ जरिवाना गर्छ। यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र नौ लाख सवारीसाधन सञ्चालमा छन्।











