पत्रकारमाथि प्रहरीले गरेको धरपकडको महासंघद्वारा विरोध
काठमाडौं, वैशाख ४ : सञ्चारमाध्यमको कार्यालयमा गएर प्रहरीले गरेको धरपकडको नेपाल पत्रकार महासंघले विरोध गरेको छ।महासंघले प्रेस विज्ञप्ति जारी गरी प्रहरी लगाएर पत्रकारमाथि...
काठमाडौं, वैशाख ४ : सञ्चारमाध्यमको कार्यालयमा गएर प्रहरीले गरेको धरपकडको नेपाल पत्रकार महासंघले विरोध गरेको छ।
महासंघले प्रेस विज्ञप्ति जारी गरी प्रहरी लगाएर पत्रकारमाथि धरपकड गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ। महासंघका सचिव प्रकाश थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'महासंघ प्रेसमाथि गरिएको यो हस्तक्षेपको कडा शब्दमा भत्र्सना गर्दछ र यस किसिमका घटना नदोहोर्याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।'
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रका प्रमुख सामन्त गोयलबीचको भेटवार्ताका विषयमा उज्यालो नेटवर्कले समाचार प्रकाशित गरेको थियो। त्यसलाई समाचार दैनिक डटकममा साभार गरेको भन्दै प्रहरीले महासंघका केन्द्रीय सदस्य बबिन शर्माको घरमा खानतलासी लिएको हो। उनलाई पक्राउ गर्न गएको प्रहरीले टोलीले धम्की दिएको महासंघले जनाएको छ।
त्यस्तै, त्यहि विषयलाई लिएर प्रहरीले उज्यालो नेटवर्क प्रालि.का प्रधानसम्पादक बुद्ध लोप्चन र कार्यकारी सम्पादक अनिश तामाङलगायतका सञ्चारकर्मीलाई पक्राउ गर्ने उद्देश्यले खोजतलास गरेको तथा कार्यालयमा धरपकड गरेको महासंघले जनाएको छ। जसले गर्दा उज्यालो नेटवर्कको कार्यालय बन्द भएको छ।
समाचारको विषयमा चित्त नबुझेमा प्रेस काउन्सिलमार्फत निरुपण खोज्नुपर्नेमा प्रहरी लगाएर पक्राउ गर्नु खोज्नु र धरपकड गर्नु निन्दनीय भएको महासंघले जनाएको छ। प्रहरी ज्यादतीको पनि महासंघले भत्र्सना गरेको छ।
अब यस्ता घटना नदोहोर्याउन र चित्त नबुझेमा प्रेस काउन्सिलमार्फत निरुपण गर्न महासंघले आग्रह गरेको छ।




-1784031842.jpg)




-1784031842.jpg)

