Kathmandu Press

विज्ञ भन्छन्- नेपालमा कोरोनाको दोस्रो लहर सुरू भयो

नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरू भएको छ। केही दिनयता संक्रमित बढेसँगै दोस्रो लहर सुरू भइसकेको चिकित्सक तथा विज्ञहरूले बताएका छन्।
विज्ञ भन्छन्- नेपालमा कोरोनाको दोस्रो लहर सुरू भयो

काठमाडौं, वैशाख ४ : नेपालमा पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरू भएको छ। केही दिनयता कोरोना संक्रमित बढ्न थालेसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरू भईसकेको चिकित्सक तथा विज्ञहरूले बताएका छन्।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला विगत केही दिन यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको बताउँछन्। अहिले कोरोना परीक्षण गराउँन आएका बिरामीलाई मात्र संक्रमितको संख्या भनिरहँदा लक्षण भएका वा नभएका बिरामीहरू पनि समुदायमा रहेको बिर्सन नहुने उनको भनाइ छ।

यससँगै आईसीयूमा भर्ना हुने संक्रमितको संख्या पनि बढेको उनी बताउँछन्। डा.बास्तोला भन्छन्, ‘अहिले मानिसहरू कोरोना संक्रमण पुष्टि भएका आफ्नो दैनिकीमा समस्या आउने डरले परीक्षण गर्न गईरहेका छैनन्। त्यसै कारण पनि समयमा उपचार नपाउँदा आईसियुमा भर्ना हुनेको संख्या बढेको छ।’

Hardik ivf

उनले काठमाडौं प्रेससँग भने, ‘अहिले काठमाडौं, पोखरा लगायतका जनघनत्व बढी भएका ठाउँहरूमा कोरोना संक्रमितको संख्या बढीरहेको देखिन्छ। त्यसैले सरकारले देशव्यापी लकडाउन नगरी कोरोनाको हटस्पट बनेको ठाउँहरूमा कोरोना नियन्त्रणका लागि व्यवस्थापनमा कडाई गरेर पनि नियन्त्रण गर्न सकिन्छ।’

यस्तै जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेका अनुसार, भारतमा कोरोना नियन्त्रणका लागि धेरै ठाउँहरूमा लकडाउन र कफर््यु सुरु गरेको हुँदा त्यहाँ कार्यरत नेपालीहरू बेरोजगार भएका छन्। कोरोनाको डर र बेरोजगारीका कारण र उनीहरू नेपाल फर्कन थालिसकेकै कारण नेपालमा अझै व्यापक रुपमा कोरोना संक्रमण फैलने सम्भावना रहेको उनको भनाइ छ।

अब विगतका गल्ती नदोहोरिने गरि काम गर्नुपर्ने उनी बताउँछन्। ‘नेपाल सरकारले विगतका गल्तीहरूलाई हेरेर अहिलेदेखि नै सीमा नाकाहरूमा कडाई गर्नु पर्ने हो। तर त्यो हुन सकेको छैन,’ उनले काठमाडौं प्रेससँग भने, ‘अहिले भारतबाट नेपाल आउनेमध्ये कतिपय मानिस कोरोना संक्रमितहरू पनि रहेका छन्।’

सरकारले विगतका गतिविधिलाई नियालेर कोरोना नियन्त्रणमा भएका गल्तीहरूलाई स्वीकारेर त्यसलाई प्रभावकारी बनाउनु तर्फ लाग्नुपर्ने डा. पाण्डे बताउँछन्। उनी भन्छन्, ‘पहिला नेपालमा दुई जनामा कोरोना संक्रमण देखिने वित्तिकै सरकारले लकडाउन घोषणा गरेको थियो। तर, अहिले कोरोना संक्तमितको संख्या अत्याधिक बढिसक्दा सरकारले उपयुक्त निर्णय लिन सकेको छैन।’

यस्तै संक्रामक रोग विशेषज्ञ डा. ह्लामो याङचेन शेर्पाका अनुसार, सरकारले सीमा नाकामा जती कडाइ गर्नु पर्ने थियो, त्यति गरेको छैन। त्यसै कारण पनि अहिले भारतबाट नेपाल आउनेको संख्या बढीरहेको उनी बताउँछिन्। ‘सरकारले अहिले भिड हुने ठाउँहरू सबै बन्द गरिसक्नु पर्ने हो। तर, जात्रा, पर्वदेखि स्कुलहरू केही बन्द गरेको छैन,’ उनले भनिन्।

सरकारले विद्यालय, सभा, सम्मेलन, जात्रा लगायतका क्रियाकलाप नरोकेसम्म कोरोना नियन्त्रण गर्न नसकिने उनी बताउँछिन्। अहिले कोरोनाको दोस्रो लहर सुरु भईसक्दा पनि सरकारले कुनै कारबाही गर्न नसक्दा भविष्यमा अनियन्त्रित ढंगमा कोरोना फैलिन सक्ने धेरै सम्भावना रहेको डा. शेर्पा बताउँछिन्।

यस्तै जनस्वास्थ्य विद् डा.लुना भट्ट शर्माका अनुसार, कोरोनाको महामारी सुरु हुँदादेखि नै यसले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्छ भन्ने प्रमाणित भईसकेको छ। कोरोनाको नयाँ भेरियन्टले विशेषत १८ वर्षमुनिका बालबालिकालाई बढी खतरा हुने उनी बताउँछिन्।

कतिपय बालबालिकामा सामान्य रुघाखाकीको लागि समेत एन्टिबडी बिकास नभएको हुनाले युवा तथा ज्येष्ठ नागरिकको तुलनामा बालबालिकामा कोरोनाको बढी प्रभाव पर्न सक्ने डा. शर्मा बताउँछिन्।

‘कोरोनाको नयाँ भेरियन्टले बालबालिकालाई बढी प्रभाव पारेको देखिन्छ। त्यसैले केही समयका लागि विद्यालय र कलेजहरू बन्द गर्नु नै उपयुक्त हुन्छ,’ डा. भट्ट भन्छिन्, ‘विद्यार्थीले कोरोना संक्रमण छिटो र धेरै फैलाउने सम्भावना बढी छ। त्यसै कारण कम्तीमा दुईदेखि तीन हफ्ता विद्यालय बन्द गर्ने हो भने पनि कोरोना नियन्त्रणका लागि धेरै प्रभावकारी हुन्छ।’

प्रकाशित मिति: ०७:४८ बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्