Kathmandu Press

सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ : मन्त्री गुरुङ

काठमाडौं, वैशाख १ : सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन्। समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ...
सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ : मन्त्री गुरुङ

काठमाडौं, वैशाख १ : सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन्। 

समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गलबजारमा आयोजना गरेको नयाँवर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रे विमोचन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धेकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको धारणा राखे। वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सञ्चालन गरिएको उल्लेख गरे। 

केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतिमा भइरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सही दिशा लिन प्रयासरत रहेको उल्लेख गरे। सरकारले सधैँ ज्येष्ठ नागरिक हितमा काम गर्दै आएको स्पष्ट पार्दै मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको विशेष ख्याल गरिने बताए । ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो। 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकलाई मृत्युपश्चात नभई जीवित छँदै सम्झिनुपर्नेमा जोड दिए। महानगरपालिकाले ज्येष्ठ नागरिकको हकमा विभिन्न कार्य गर्दै आएको उनले बताए। यस्तै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकको अनुभवबाट समाज र मुलुकले लाभ लिनुपर्ने बताए। ज्येष्ठ नागरिकको सहज जीवनका लागि सबै निकायको प्रयास आवश्यक रहेको उनको भनाइ थियो । सो अवसरमा मन्त्री गुरुङ, नगरप्रमुख महर्जन र वाङमय शताब्दी पुरुष जोशीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरेका थिए। 
 

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्