राष्ट्रपतिदेखि दलका नेताको शुभकामना : यसरी स्मरण गरे वर्ष २०७७ लाई ?
काठमाडौं, वैशाख १ : नयाँ बर्ष २०७८ सालको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख देखि विभिन्न राजनीतिक दलका नेताहरुले आ आफ्नै तरिकाले शुभकामना व्यक्त...
काठमाडौं, वैशाख १ : नयाँ बर्ष २०७८ सालको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख देखि विभिन्न राजनीतिक दलका नेताहरुले आ आफ्नै तरिकाले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएका छन् । नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी छिन् ।
उनले संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य मुलुकको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनुजस्ता कार्य सकारात्मक उपलब्धि भएको जनाईन् ।
उनले कोरोना कहरको बीचमै रानीपोखरी, दरबार हाईस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाको पुनःनिर्माण सम्पन्न हुनुका साथै चिर प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी वितरण शुरु गरिनुलाई २०७७ सालका उल्लेखनीय सामाजिक आर्थिक उपलब्धिको रूपमा लिन सकिने पनि जनाईन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरेका छन् । उनले अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको स्मरण गर्दै उपराष्ट्रपतिले महामारीकै कारण लाखौँलाख विद्यार्थीले विद्यालयको कक्षाकोठामा पुग्न नपाएको उल्लेख समेत गरेका छन् ।
त्यसैगरी प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गरेका छन् । अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक रहेको भन्दै सभामुखले प्रतिबद्धताहरू व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने उनको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गरेका छन् । उनले नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरूबीच एकता कायम भएको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीबीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीले षड्यन्त्रमूलक ढङ्गले विभाजन गरेको स्मरण गरेका छन् ।




-1784031842.jpg)




-1784031842.jpg)

