युट्युवलाई स्वनियमन गर्नुपर्नेमा महासङ्घका नवनिर्वाचित पदाधिकारीको जोड
काठमाडौँ, चैत्र ३१ : नेपालका अनलाइन टिभीहरुको शुद्धिकरण र सुदृढीकरण आफ्नो कार्यकालको प्राथमिकताको विषय भएको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले बताएका छन् ।अनलाइन...
काठमाडौँ, चैत्र ३१ : नेपालका अनलाइन टिभीहरुको शुद्धिकरण र सुदृढीकरण आफ्नो कार्यकालको प्राथमिकताको विषय भएको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले बताएका छन् ।
अनलाइन टीभी पत्रकार सङ्घले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामनाका लागि सोमबार राजधानीम आयोजित कार्यक्रममा उहाँहरुले उदाउँदो सञ्चार क्षेत्रलाई तत्काल व्यवस्थापनको खाँचो रहेकोमा जोड दिए । कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले युट्युव पत्रकारितालाई नियन्त्रणका लागि सरकारलाई आह्वान गर्नुभन्दा स्वनियमनमा जानु उपयुक्त हुने धारणा राखे ।
“पत्रकारिता क्षेत्रलाई राज्यको नियन्त्रणभन्दा सञ्चार माध्यमले आफैँ नियमन गर्ने हिसाबले जानु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिकोणले उपयुक्त हुन्छ”, अध्यक्ष पोखरेलले भने । उनले अनलाइन टिभी पत्रकार सङ्घले बनाएको स्वनियमन निर्देशिका उच्चस्तरको रहेको र त्यसलाई कार्यान्वयन गर्न सकेमा मुलुधारका पुराना सञ्चार माध्यमभन्दा अनलाइन टिभी क्षेत्र थप गुणस्तर हुने देखेको बताए । कार्यक्रममा महासङ्घकी महिला उपाध्यक्ष बाला अधिकारीले गाउँ–सहर, देश–विदेश जताततै अनलाइन टेलिभिजन लोकप्रिय हुँदै गएको तर यसको गुणस्तरमा भने सुधार गर्नुपर्ने अवस्था रहेको धारणा राखिन् ।
महासङ्घका एशोसिएट सचिव पवन आचार्यले महासङ्घले विधागत पत्रकारिताको विकासका लागि एशोसिएट सदस्यताको प्रावधान गरेकाले अनलाइन टेलिभिजन पत्रकार सङ्घलाई पनि एशोसिएट सदस्य बनाए यस क्षेत्रको विकासमा थप सजिलो हुने विश्वास व्यक्त गरे ।रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले न्यू मिडियालाई बेलैमा व्यवस्थापन गर्न सकिएन भने प्रेस स्वतन्त्रता नै खतरामा पर्न सक्ने चेतावनी दिए ।
सङ्घका अध्यक्ष जीवन भण्डारीले नवनिर्वाचित सबै केन्द्रीय पदाधिकारीलाई माला, खादा र अविर लगाएर बधाई तथा शुभकामना दिँदै सहकार्यका लागि आह्वान गरेका थिए। सङ्घले जारी गरेको स्वनियमन निर्देशिकालाई महासङ्घले पनि ग्रहण गरी सबै पत्रकारलाई यसबारेमा अभिमुखीकरण गर्न महासङ्घले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । (रासस)










-1784031842.jpg)
