हावाहुरीले कैलाली र कञ्चनपुरका दुई हजार घरमा क्षति
महेन्द्रनगर, जेठ २७ : हावाहुरीले कैलाली र कञ्चनपुरका दुई हजार घरमा क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार, कैलालीमा एक हजार दुई सयभन्दा बढी र कञ्चनपु....
महेन्द्रनगर, जेठ २७ : हावाहुरीले कैलाली र कञ्चनपुरका दुई हजार घरमा क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार, कैलालीमा एक हजार दुई सयभन्दा बढी र कञ्चनपुरमा आठ सय ७० घरमा क्षति पुगेको जनाएको छ।
दुवै जिल्लामा नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक विवरण संकलन गरेको छ भने प्रहरीका एकाइले पनि क्षतिको विवरण संकलन गरेका छन्। कञ्चनपुर रेडक्रसका अनुसार, हावाहुरीले आठ सय ७० घरमा क्षति पुगेको पाइएको छ।
जसमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले वास्तविक तथ्यांक आउन अझै एक–दुई दिन लाग्ने बताए।
उनले वास्तविक रेकर्ड सङ्कलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएका थिए। ‘स्थलगत अनुगमनका क्रममा पूर्णरुपमा क्षति भएको देखिएको परिवारलाई रेडक्रसले राहत प्याकेज पनि उपलब्ध गराइएको छ,’ उनले भने।
त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका पाँच सय २५ बिजुलीका पोल भाँचिएका छन्। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युत्तर्फ पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताए।
जसका कारण अझै पनि कृष्णपुरको रैकवारबिचुवामा विद्युत् सञ्चालन हुन सकेको छैन। केही ठाउँमा भने मर्मतसम्भार गरेर बिजुली आपूर्ति हुन थालेको छ।
स्थानीय तह पनि राहत र क्षतिको विवरण संकलन गरिरहेका छन्। जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्ने जनाएको छ।
तीन दिन अघि आएको हावाहुरीले दुवै जिल्लामा दुई जनाको मृत्यु भएको थियो। कयौं घाइते भएका थिए।






