प्रधानमन्त्रीलाई विमानस्थलमै नेविसंघले देखायो कालो झण्डा
काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल विद्यार्थी संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कालो झण्डा देखाएको छ ।
स्वीट्....

काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल विद्यार्थी संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कालो झण्डा देखाएको छ ।
स्वीट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९औं बैठकमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमै नेविसंघले कालो झण्डा देखाएको हो ।
डा.गोविन्द केसीसँगको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि कांग्रेस विरोधमा उत्रिएको थियो । त्यसकै विरोधमा नेविसंघले पनि प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको जनाएको छ ।

डा.केसी १८ दिनदेखि १६औं अनसनमा छन् । यस अघि १५औं अनसनका क्रममा सरकारले उनीसँग सहमति गरेको थियो ।
तर, त्यसको विपरित शुक्रबार संसद्बाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको छ ।
प्रधानमन्त्रीलाई विमानस्थलमा कालो झण्डा देखाउने नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेविसंघ केन्द्रीय सदस्य सुशील भट्ट, सुवास घिमिरे, निरञ्जन थापा, सुदीप अधिकारीलगायत नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको नेविसंघले जनाएको छ ।











