प्यूठानमा भोजविक्रम बुढाको अध्यक्षतामा एमाले समानान्तर कमिटी
प्यूठान, चैत २९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्यूठान जिल्लामा भोजविक्रम बुढामगरको अध्यक्षतामा ३९ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ। प्यूठान नगरपालिका-३...
प्यूठान, चैत २९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्यूठान जिल्लामा भोजविक्रम बुढामगरको अध्यक्षतामा ३९ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ। प्यूठान नगरपालिका-३ जुम्रीमा शनिबार आयोजित अगुवा कार्यकर्ताहरूको जिल्ला भेलाद्वारा गठित कमिटीमा उपाध्यक्ष कृष्णबहादुर रायमाझी र सचिव दीपेन्द्र केसी छन्।
सोही अवसरमा १३ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरिएको छ। सो सचिवालयमा विराज भण्डारी, आरपीराज भण्डारी, जीआर पुलामी, तिलबहादुर घर्ति, धर्मराज भण्डारी, सन्तोष विक, आर रिजाल, झविलाल राहु, भीमबहादुर केसी र झगबहादुर बुढामगर रहेको नवनिर्वाचित सचिव केसीले जानकारी दिए।
भेलामा उपस्थित एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिस्ट पार्टी मास्न खोज्नेलाई जनताले साइजमा ल्याउने बताए। ‘प्रधानमन्त्री केपी ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता जनआन्दोलनका उपलब्धि मास्न र एमाले सिध्याउन चाहान्छन्,’ उनले भने, ‘तर हामी विशाल नेपाल कम्युनिस्ट पार्टीको निर्माण गर्न चाहन्छौं।’
ओली विधानविपरीत स्वेच्छाचारी ढंगले अगाडि बढेकाले एमाले यस्तो हालतमा पुगेको दाबी गरे। उनले कर्तव्यनिष्ठ कार्यकर्ताले बाटो बिराएर ओली समूहमा लागेर गल्ती नगर्न आग्रह गरे। उनले कम्युनिस्ट पार्टी छिन्नभिन्न पार्नेहरू इतिहासका कलङ्कित साबित हुने दाबी गरे।











-1784031842.jpg)