Kathmandu Press

दुई पुस्ता खलनायक : ‘पहिले दर्शकले गुन्डा नै ठान्थे, अहिले ह्यान्डसम भिलेन भन्छन्’

नेपाली बृहत शब्दकोशमा खलनायकको अर्थ ‘नाटक, चलचित्र आदिमा नायकका विरुद्ध भूमिका खेल्ने पात्र, प्रतिनायक, हुन लागेको काम पनि अघि सरेर भाँड्ने व्यक्ति’ उल्लेख छ ।
दुई पुस्ता खलनायक : ‘पहिले दर्शकले गुन्डा नै ठान्थे, अहिले ह्यान्डसम भिलेन भन्छन्’

काठमाडौं, चैत २९ : एकपटक अभिनेता सुशील पोखरेल बाटोमा हिँडिरहेका थिए । उनको पछाडि हिँडिरहेका दुई युवकले उनीप्रति नराम्रो टिप्पणी गरे, उनले अभिनय गरेको फिल्मको चरित्रलाई लिएर । उनीहरुले पोखरेल स्वयं नै गुन्डा, खराब चरित्र भएको मानिस जसरी बोलिएका थिए ।  

‘हरेकले कुनै पनि फिल्म हेर्दा आफूलाई हिरो ठानेको हुन्छ । त्यो समयमा मैले उनीहरूलाई केही भनेको भए झगडा पथ्र्यो । किनभने उनीहरुले मलाई खराब मान्छे मानेका थिए र त्यही अनुसारको व्यवहार प्रदर्शन गरेका थिए,’ पोखरेल भन्छन्, ‘त्यसैले रिस उठे पनि नसुनेझैँ गरी हिँडे ।’

तीन दशकभन्दा बढी समयदेखि अभिनय क्षेत्रमा क्रियाशील अभिनेता पोखरेलको जीवनमा यस्ता घटना धेरै दोहोरिएका छन् । ‘मैले धेरै चलचित्रमा नकारात्मक पात्रको भूमिका निभाएको छु । त्यसैले कतिपय मानिसले मलाई भेट्दा राम्ररी बोल्दैनन्, बाटोमा हिँड्दा मैले सुन्ने गरी के के भन्छन्,’ पोखरेल भन्छन् । 

Hardik ivf

यद्यपि यो उनको ठूलो सफलता हो । एउटा अभिनेताको अभिनयलाई दर्शकले वास्तविकता ठान्छ र त्यही अनुसारको व्यवहार गर्छ ! एउटा अभिनेताका लागि योभन्दा ठूलो सफलता अर्को के हुन सक्छ ?  

पोखरेल २०५० सालमा चलचित्र ‘ज्वाला’बाट ठूलो पर्दामा डेब्यु गरेका हुन् । २०४२ सालदेखि उनी रंगमञ्चमा सक्रिय थिए । ०४६÷४७ सालतिर भिडियो फिल्ममा काम गर्न थाले । ‘आकाश पनि चुप छ’ टेलिसिरियलमा आफ्नो अभिनय मनपराएर फिल्ममा अफर आउन थालेको उनी बताउँछन् । चलचित्र ज्वालामा उनले खलनायकको भूमिका निभाएका छन् । ‘ज्वाला’मा उनको हाँसो र हेराइलाई लिएर अझै पनि फिल्मी जगतमा प्रशंसा हुने गर्छ।   

‘चलचित्रमा नकारात्मक पात्र नै रोज्छु भन्ने होइन । म आर्टिस्ट बन्न यो क्षेत्रमा आएको हुँ । एउटा आर्टिस्टमा जस्तो पनि पात्रको भूमिका निभाउन सक्ने क्षमता हुनुपर्छ,’ उनी भन्छन्, ‘रंगमञ्च र टेलिसिरियलमा मैले निभाउने भूमिका सकारात्मक नै हुन्थ्यो, तर एउटा फिल्ममा नकारात्मक पात्रको भूमिका निभाएपछि दर्शकले मेरो कामलाई मनपराए र फिल्महरूको लाइन लाग्यो । मेरो होइन, अरुको इन्टरेस्टका कारण नकारात्मक भूमिकामा बढी काम गरेँ।’ 

अभिनेता सुशील पाेखरेल ।

चलचित्रमा निभाएको चरित्र र कलाकारको वास्तविक चरित्र स्वाभाविक रुपमा भिन्न हुन्छ । चलचित्रमा कोही अर्बौंका मालिक त कोही गरिब, कोही शक्तिशाली नेता वा प्रशासक त कोही निमुखो नागरिक भएर अभिनय गर्न सक्छन् । त्यो चरित्र स्थापित गर्न सानो अभिनय क्षमताले पुग्दैन । पोखरेलको अभिनय यति शक्तिशाली छ कि उनकै परिवारले पनि ‘क्रूर र नकारात्मक भूमिकामा नखेल्नू’ भनेर सुझाउँछ।

खलनायक शब्दले खराब चरित्र भएको व्यक्तिलाई बुझाउँछ । कला, साहित्यमा खलनायकको विशेष भूमिका हुन्छ । खलनायक एउटा काल्पनिक पात्र हो, तर समाजकै उपज हो । जब यो पात्र नाटक वा फिल्ममा आउँछ, त्यसमा भूमिका निभाउने काम कलाकारले गर्छ । कतिपय वास्तविक जीवनमा आधारित फिल्म पनि भन्छन्।

नेपाली बृहत शब्दकोशमा खलनायकको अर्थ ‘नाटक, चलचित्र आदिमा नायकका विरुद्ध भूमिका खेल्ने पात्र, प्रतिनायक, हुन लागेको काम पनि अघि सरेर भाँड्ने व्यक्ति’ उल्लेख छ।

विशेषतः फिल्ममा नकारात्मक भूमिका निभाउने (खलनायक, प्रतिनायक, गुन्डा, भिलेन जे भनौँ)लाई दर्शकले पहिले मन पराउँदैनथे । तर अहिले समाजको सोच बदलिएको छ । फिल्मलाई फिल्मकै रूपमा लिने, कलाकारको कलालाई सम्मान गर्ने संस्कार बढ्दो छ । ‘दर्शक जति शिक्षित भए, कलाकारलाई सम्मान गर्ने संस्कार बढ्दै जान्छ,’ पोखरेल भन्छन्, ‘पहिले चलचित्रको पात्रलाई नै वास्तविक मानेर व्यवहार गर्ने समाज अहिले बदलिएको छ । अहिलेका दर्शकले चलचित्र भनेको अभिनय हो भनेर बुझिसकेका छन् ।’ 

अभिनेता प्रशान्त ताम्राकार दर्शकले आफूले ‘ह्यान्डसम भिलेन’ भन्ने गरेको बताउँछन् । ‘यो हिसाबले पनि अहिले समाजमा चलचित्रमा नकारात्मक भूमिका निभाउने व्यक्तिलाई नराम्रो नसोच्ने प्रस्ट हुन्छ,’ अभिनेता ताम्राकार भन्छन्, ‘मैले भिलेनको रूपमा काम गरेको धेरैले मन पराएका छन् । दर्शकले मलाई भिलेनको रूपमा नभई अभिनेताका रूपमा हेरेर, मेरो कामलाई मन पराएका हुन् ।’ 

दर्शकले आफूसँग फोटो खिचेर प्रोत्साहन गरेको पनि ताम्राकार बताउँछन् । ‘नकारात्मक पात्रको पनि छुट्टै प्रशंसक हुन्छन्,’ उनी भन्छन्, ‘तर, समाजमा कसले के भन्छ भन्दा पनि कसरी काम गर्ने भन्ने महत्वपूर्ण हुन्छ ।’

अभिनेता प्रशान्त ताम्राकार । तस्बिर : सुजल बज्राचार्य

ताम्राकारका अनुसार, एक जमानामा लुट्ने, डकैती गर्नेहरूलाई डाकु भनिन्थ्यो । समाज यस्ता लुटेराबाट डराउनुपर्ने थियो । त्यसैकारण पहिलेका चलचित्रमा यस्तै पात्रलाई दर्शकमाझ ल्याइने गरिन्थ्यो र उनीहरूलाई डाकु÷डाँका भनेर चिन्ने गरिन्थ्यो । ‘पछि गुन्डा भन्ने शब्द आयो । अलि बढी पढे–लेखेका तर गुन्डागर्दी गरेर हिँड्ने पनि थिए,’ उनी भन्छन्, ‘समाजभित्र बसेर मानिसलाई जिस्क्याउने, धम्क्याउने, तर्साउने गर्थे र उनीहरूलाई गुन्डा भन्न थालियो ।’ 

अहिले भने नकारात्मक पात्रलाई भिलेन भन्न थालिएको ताम्राकार बताउँछन्।  ताम्राकार भन्छन्, ‘खलनायकलाई नै सभ्य भाषामा भिलेन भन्न थालिएको हो । व्यापार÷बिजनेसमा तल–माथि हुँदा आफ्नो फाइदा गर्न विभिन्न चलखेल गर्नेलाई भिलेन भनेर दर्शकले चिन्न थालेका छन् । कुनै चलचित्रको पात्र, जो व्यापारी वा राजनीतिक व्यक्ति छ, उसले तलमाथि गर्यो भने उसलाई भिलेन भनिने उनी बताउँछन् । ‘उनीहरूले आफ्नो फाइदाका लागि अरुलाई हानि पनि पु¥याइरहेका हुन्छन्,’ उनी भन्छन्, ‘त्यो पात्र व्यक्ति विशेषलाई नराम्रो लाग्न सक्छ, तर फाइदा कमाउनेका लागि त्यो पात्र राम्रो लाग्न सक्छ ।’

तसर्थ समाज परिवर्तनसँगै कुन समाजमा कस्तो पात्रलाई खलनायक भन्ने भनी परिभाषामा परिवर्तन भएको उनी बताउँछन् । ‘कुनै समय मुखिया, जमिनदारले पनि समाजमा भएका गरिबको शोषण गर्थे । त्यतिबेला उनीहरूलाई खलनायकको पात्रमा राखिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले हरेक मानिसमा हिरोइजम् पनि छ र भिलेन पनि छ । मैले कसैलाई गाली गरेँ भने त्यो मान्छेको लागि म भिलेन हुन्छु भने कसैलाई राम्रो गर्दा हिरो हुन्छु । त्यसैले हरेक मान्छेलाई हेर्ने दृष्टिकोण छुट्टाछुट्टै हुन्छ । त्यही अनुसार, मेरो लुक्स र क्यारेक्टरलाई हेरेर जस्तो पात्रको अफर आयो, त्यहीँ गरेको हुँ ।’ 
 

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, चैत २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्