गोरखा दरबार पुनर्निर्माणमा भएको ढिलाइप्रति देउवाको चासो
गोरखा, जेठ २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्....

गोरखा, जेठ २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
कांग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन आइपुगेका सभापति देउवाले आइतबार दरबार पुनःनिर्माणको अवलोकनका क्रममा यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको ऐतिहासिक स्थलको पुनःनिर्माणमा ढिलाइ हँुदा पर्यटन विकासमा बाधा पुग्ने बताए।
‘दरबार पुनःनिर्माण छिटो हुनुपर्छ’, सभापति देउवाले भने,‘सरकारले पुरातात्विक महत्व बोकेका एतिहासिक क्षेत्रको विकासलाई प्राथामिकतामा राख्नु आवश्यक छ।’ दरबार पुनःनिर्माणको अवस्था हेर्दा अत्यन्तै सुस्त गतिमा काम भएको पाइएको भन्दै उनले पुनःनिर्माणलाई तीव्रता दिन कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरेका थिए।
देउवाले भने,‘धर्म मान्ने र नमान्नेभन्दा पनि यो पर्यटनका हिसाबले समेत राम्रो सम्भावना बोकेको ठाउँ पनि हो, यसलाई लामो समयसम्म अलपत्र पारेर राख्नु हँुदैन।’ सभापति देउवाले कालिका भगवती र गुरु गोरखनाथको मन्दिरमा पूजा गरेका थिए।











