कांग्रेस पराजित भएपछि विकासका योजना अलपत्र परेः पौडेल
दमौली, जेठ २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस चुनावमा पराजित भएपछि विकासका योजना अलपत्र परेको बता....

दमौली, जेठ २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस चुनावमा पराजित भएपछि विकासका योजना अलपत्र परेको बताएका छन्।
तनहुँको भानु नगरपालिका–४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि निर्माण भएको पक्की पुलको आइतबार उद्घाटन गर्दै पौडेलले दुईतिहाईको सरकारले विकासका योजना अलपत्र पारेको आरोप लगाए।
‘विकास गर्न चिन्तन, योजना र देशभक्ति आवश्यक पर्छ,’ उनले भने,‘ तर सरकार अहिले यो विषयमा अलमलिएको जस्तो देखिएको छ।’ पौडेलले कृषि क्रान्ति, उर्जा विकास र पर्यटनमार्फत देश समृद्ध बन्न सक्ने भएकाले सरकारले यी विषयलाई प्राथमिकतामा राखेर विकास योजना बनाउनुपर्नेमा बताए।
फरक प्रसंगमा पौडेलले आदिकवि भानुभक्तको जन्मथलो चँुदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने बताए। उनले निर्माण भएको गुरुयोजना अनुसार भानु जन्मथलोलाई पर्यटनको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिए।
उनले भने,‘नेपाली भाषाका धरोहर आदिकविको जन्मथलोको विकासका लागि साहित्यिक उद्यानको गुरुयोजना बनाएका थियौ, तर राजनीतिले अर्कै मोड लिएपछि चुँदी क्षेत्रसमेत ओझेलमा पर्न थाल्यो।’











