चीनमा विश्वकै ठूलो द्रुतमार्ग सञ्जाल
काठमाडाैं, चैत २८ : सन् १९८४ मा चीनमा निर्माण हुन लागेको पहिलो राष्ट्रिय द्रुतमार्ग परियोजनाबारे भएको बहस ७९ वर्षीय चाङ कुइहाङको दिमागमा अझै...काठमाडाैं, चैत २८ : सन् १९८४ मा चीनमा निर्माण हुन लागेको पहिलो राष्ट्रिय द्रुतमार्ग परियोजनाबारे भएको बहस ७९ वर्षीय चाङ कुइहाङको दिमागमा अझै ताजा छ। हुजिया द्रुतमार्ग आयोजनाका डेपुटी चिफ इन्जिनियर चाङ गत मंगलबार द्रुतमार्गसम्बन्धी एक कार्यक्रमका विशेष अतिथि थिए।
एक लाख ६० हजार किलोमिटर लामो द्रुतमार्ग सञ्जाल तयार पारेर चीनले सबै मुलुकलाई उछिनेको छ। संसारकै ठूलो द्रुतमार्ग सञ्जाल तयार भएपछि चीनले हालै ‘चाइना एलङ द एक्सप्रेसवे’ नामक ग्र्यान्ड टुर आयोजना गर्यो। त्यसक्रममा द्रुतमार्गहरूबाट आर्थिक, सांस्कृतिक र पर्यटकीय विकासमा पुगेको योगदानबारे ‘कभरेज’ गर्न प्रदेश र स्थानीय सञ्चारमाध्यमलाई आमन्त्रण गरिएको थियो।
पहिलो द्रुतमार्ग निर्माण गर्दै गर्दा विज्ञ र इन्जिनियरहरू कति सतर्क थिए भन्ने अहिले कल्पनाबाहिरको कुरा हो। किनकि, त्यस्तो अभ्यास चीनमा पहिलोपटक हुँदै थियो।
‘धेरै विज्ञले हामीलाई १२० किलोमिटर प्रतिघण्टा गतिको दु्रतमार्ग किन चाहियो भनी प्रश्न गरेका थिए। किनकि, धेरै परिवारसँग कार थिएनन् र भएका कार पनि ८० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र गुड्न सक्थे,’ हुजिया दु्रतमार्गको मुल साइटमा उभिएर चाङले सम्झिए, ‘जो अक्टोबर १९८८ मा खुलेको थियो। त्यो द्रुतमार्ग निर्माणको सबैभन्दा गाह्रो पक्ष भनेको त्यसका बारेमा उत्पन्न असंख्य मत मतान्तर थिए।’
हुजिया द्रुतमार्ग निर्माण सम्पन्न भएयता कसैले फेरि त्यही प्रश्न दोहोर्याएको छैन। विगत चार दशकमा चीनले पहाड र नदीहरूमाथि दु्रतमार्गको विशाल सञ्जाल तयार पारेको छ, जसले दुई लाख वा अधिक जनसंख्या भएका चिनियाँ सहरहरूको ९९ प्रतिशत क्षेत्रलाई समेट्छ।
‘अर्को चरण भनेको सन् २०३५ सम्ममा एक लाख वा बढी जनसंख्या भएका सबै सहर र गाउँलाई समेट्नु हो,’ यातायात मन्त्रालयको कम्प्रिहेन्सिभ प्लानिङ डिपार्टमेन्टका उपनिर्देशक वाङ सोङ्बोले भने, ‘डिजिटल पूर्वाधार र स्मार्ट यातायात प्रणालीको विकास उच्च सम्भावनाका बीच जारी छ। जस्तै– ट्राफिकको वास्तविक समय अनुगमन यसको एउटा उदाहरण हो, जसले चालकहरू र आपतकालीन अवस्थामा केन्द्रीय निगरानीका लागि मद्दत गर्छ।’
वाङका अनुसार द्रुतमार्गको हालको माइलेजले चीनको कुल सडक माइलेजको तीन प्रतिशत हिस्सा ओगट्छ। तर, मालवस्तु ढुवानीका लागि द्रुतमार्ग सञ्जालले हिस्सा कुल सडक माइलेजको आधाभन्दा बढी योगदान गर्छ।
त्यसैले दु्रतमार्ग सञ्जाल चिनियाँ आर्थिक विकासको मेरुदण्ड नै बनेको छ। हुजिया दु्रतमार्ग त्यसको एक उत्तम उदाहरण हो। चाङले यसको तात्कालिक र दीर्घकालीन लाभ देखेका छन्।
‘म जियडिङ जिल्लाको स्थायी बासिन्दा हुँ र दु्रतमार्ग निर्माण टोलीको हिस्सा बन्न पाएकामा गौरव गर्छु,’ उनले भने, ‘हुजिया द्रुतमार्गका कारण जियडिङ जिल्ला लगानीकर्ताको आकर्षणको केन्द्र बनेको छ।’
यो दु्रतमार्गले सांघाई सहरलाई आसपासका उपनगरहरूसँग जोड्छ। यो दु्रतमार्ग निर्माण हुनुअघि मुख्य राजमार्गमा २० किलोमिटर यात्रा गरी ताजा उत्पादन स्थानीय बासिन्दामाझ पु¥याउन कम्तिमा दुई घण्टा लाग्थ्यो। तर, हुजिया द्रुतमार्गले अब त्यो दूरी घटाएर ३० मिनेटको यात्रामा सीमित बनाएको छ।
सन् १९८८ मा यो हुजिया द्रुतमार्ग सञ्चालनमा आएपछि जियडिङ जिल्लाको ताओपुमा एक औद्योगिक पार्क खुल्यो। त्यसपछि नानसियाङ सहरमा पर्यटन विकास भयो, जो सांघाईका बासिन्दाको छुट्टि गन्तव्य बनेको छ।
यस्तै विकासको ढाँचा चीनभरि देख्न सकिन्छ। यो विकासले खासगरी दुर्गम क्षेत्र र दूरदराजका गाउँलाई देशका बाँकी स्थानसँग जोडेको छ। चीनको द्रुतमार्ग विकास अभियानले गरिबी निवारणमा वास्तवमै उत्कृष्ट योगदान दिएको छ।
(साइन डट सीएनबाट)