Kathmandu Press

‘रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण’

काठमाडौं, चैत २७ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा. सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा...
‘रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण’

काठमाडौं, चैत २७ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा. सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताएका छन्। 

सिटिइभिटीद्वारा आज राजधानीमा आयोजित एकदिने गोष्ठीमा डा. शर्माले युवालाई गुणस्तरीय प्राविधिक शिक्षा दिई रोजगार प्रदान गर्नु आजको प्राथमिकता भएको बताए । शिक्षालाई हेर्ने दृष्टिकोण पुनर्विचार गरिएन भने यसले विकास र समृद्धिमा टेवा नपुग्ने उनको जिकीर छ । ‘हामी कहाँ योजना बने पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर छ’, उनले भने, ‘त्यसैले योजना तयारीमै धेरै ध्यान दिनुपर्दछ ।’ 
 
‘समृद्धिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको सुधार’ नामक गोष्ठीमा सिटिइभिटीका सदस्य सचिव डा पुष्पराज वाग्लेले आधारभूत, मध्यम र उच्चसीपयुक्त जनशक्ति उत्पादनमा सिटिइभिटी अहोरात्र खटिरहेको जानकारी दिए। ‘विज्ञ, नीति निर्माता, उद्योगी र युवाको संलग्नता र सहयोगमा राष्ट्रको विकासका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (टिभेट) को बलियो उपस्थिति आवश्यक छ’, उनले भने। सिटिइभिटीका अन्य क्रियाकलापबारे जानकारी दिँदै उनले बदलिँदो परिस्थितिमा सिटिइभिटीको ऐन परिमार्जन गर्नु उत्तिकै आवश्वयक रहेको धारणा व्यक्त गरे। 

उनका अनुसार देश सङ्घीयतामा गएसँगै क्षेत्राधिकारमा कानूनी अन्योल भएकाले सिटिइभिटीका कार्यक्रम कुन तहका सरकारले सञ्चालन गर्ने भन्नेमा अन्योल छ । स्मार्ट प्रविधिको समयमा पनि हाते मेशिनमा भरपर्नुपर्ने, आवश्यक मेशिन, औजारको कमी, वैदेशिक रोजगारको आवश्यकताअनुसार पाठ्यक्रममा सुधार नहुनु सिटिइभिटीका चुनौती रहेको डा वाग्लेको भनाइ छ ।

विगत चार वर्षको अवधिमा प्राविधिक शिक्षालयको संस्थागत पहुँच पुगेको स्थानीय तहको सङ्ख्या १९१ बाट ३८३ पुगेको र प्रशिक्षार्थीको भर्ना क्षमता ४५ हजारबाट ८३ हजारमाथि पुगेको सिटिइभिटीको तथ्याङ्क छ । कार्यक्रममा, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले सिटिइभिटी पुनसंरचनाको क्रममा रहेको जनाए। उनका अनुसार टिभेट शिक्षा क्षेत्रको नीति योजनाको बहसभित्रै हो वा होइन मूल्याङ्कन गर्ने सयय आएको बताए। ‘संरचना परिवर्तनले मात्रै समस्या समाधान हुन्छ कि भएका प्रावधानको प्रभावकारी कार्यान्वयनमा जोड दिनु महत्वपूर्ण पक्ष हो’, लम्सालले जोड दिए।

अर्का वक्ता रामहरि लामिछानेले शिक्षा मन्त्रालयमा अनुसन्धान विभाग खै भन्ने प्रश्न गरे । सिटिइभिटीको शिक्षाले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय मान्यता पाउनु जरुरी छ । उनका अनुसार, अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम शिक्षालयमा मर्जर नीति अपनाउनु आवश्यक छ । ‘प्राविधिक शिक्षा गुणस्तरीय र अनुसन्धानमा आधारित हुनैपर्छ’, उनले भने।  

चिकित्सा शिक्षा आयोगका अध्यक्ष डा श्रीकृष्ण गिरीले अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनु आवश्यक रहेको बताए। उनका अनुसार, एकपटक तालीम प्राप्त प्राविधिकले पनि समयसमयमा आफ्नो शिक्षा र सीपलाई पुनर्ताजगी गर्नुपर्दछ । गोष्ठीमा प्राविधिक शिक्षा र व्यावसायिक तालीमका विविध पक्षमा विभिन्न चार वटा कार्यपत्र प्रस्तुत हुनेछन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले ‘अतिकम विकसित देशका लागि सीपयुक्त जनशक्ति उत्पादन’, सचिव गोपीनाथ मैनालीले ‘सङ्घीय संरचनामा टिभेट व्यवस्थापन’, वीरेन्द्रराज पाण्डेले ‘टिभेटको गुणस्तर विकासमा निजी क्षेत्रको भूमिका’, डा हरि प्रधानले ‘टिभेट र प्रशिक्षितको रोजगारका लागि सहजीकरण’ विषयमा प्रस्तुति दिनेछन्।  

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले कार्यगत पुनःसंरचनामा चाँहि हामीले कम महत्व दियौँ कि भने । आजको गोष्ठीबाट टिभेटसम्बन्धी गहन र फलदायी बहस हुने उनले अपेक्षा गरे। डा झाले सिटिइभिटीद्वारा प्रकाशित १५ वटा अनुसन्धानमूलक लेखको जर्नल विमोचन गरे। रासस
 

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्